छाउगोठको तथ्याकं संकलन गर्दै प्रहरी

रिपोर्ट नेपाल | 2019 Jan 16 | 10:31 am 2439

बाजुरा, माघ २ : जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याकं संकलन प्रारम्भ गरेको हो ।

छाउगोठको तथ्याकं संकलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। छाउगोठको तथ्याकं सकंलन गर्न भाट आफै खटिएका छन्।

“पहिलो चरणमा छाउगोठ रहेको स्थानको पहिचान तथा सङ्ख्या यकिन गर्ने रणनीति बनाएका छौँ,” भाटले भने। भाटको नेतृत्वमा बडिमालिका नगरपालिकाका नौ वडामा छाउगोठ पहिचान गर्न टोली खटिएको छ । हालसम्म बडिमालिका नगरपालिका–९ उखाडी, चौराटा, बडिमालिका २, १, ४ तथा त्रिवेणी नगरपालिकाका विभिन्न टोलमा छाउगोठको अवस्था अध्ययन गरिएको छ ।

“केही दिनमै जिल्लाको तथ्याङ्क बाहिर आउँछ,” भाटले भने । पीलुचौरले बाँधु आसपास र विमानस्थल सुरक्षागार्डको टोलीले कोल्टी बजार आसपासको गाउँमा तथ्याङ्क सङ्कलन गरिरहेको छ । ती ठाउँमा अहिलेसम्म ८० भन्दाबढी छाउगोठ भेटिएको छ ।

सबैभन्दा बढी त्रिवेणी नगरपालिकाको वडा नं ६ मा ४९ छाउगोठको रहेको पाइएको प्रहरी प्रमुख भाटले जानकारी दिए। “सबैको रोहवरमा छाउगोठ भत्काउँछौँ,” उनले भने, “गत साता बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि अभियान थालेका हौँ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.