छविलालसहित १२ जना जेलमुक्त हुँदै, अझै न्यायको खोजीमा गंगामाया

| 2018 Sep 10 | 06:51 am 1778

काठमाडौं, भदौ २५: लामो समयदेखिको गंगामाया अधिकारीको अनशन र अनशनमै भएको बेला ज्यान गुमाएक उनका पति नन्दप्रसाद अधिकारीको सपना अझै पुरा भएन। उनीहरुले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालार्इ कारबाही हुनुपर्ने माग राखेका थिए।

गंगामायाको अनशनका कारण सरकार संकटमा पुगेको सरकारलाई उद्दार गर्न खासगरी पूर्व माओवादी नेतृत्वको सुझावमा छविलाल पौडेललार्इ आत्मसर्पण गर्न लगाइयो। छविलाललगायत १२ जनालार्इ थुनामा राख्‍न अदालतले आदेश दियो। अषाढ २८ गते थुनामा बसेको अदालतले फेरी दोषी ठहर गर्न आवश्यक प्रमाण नपुगेको भन्दै छविलाललगायत १२ जनालाई चितवन जिल्ला अदलातले सफाई दिएपछि आफ्नो छोराको हत्यामा न्याय नपाएको भन्दै असन्तुष्टी व्यक्त गरेकी छिन्।

चितवन जिल्ला अदालतको फैसलालगत्तै वीर अस्पतालमा उपचारार्थ रहेकी गंगामायाले यसबाट आफु निराश भएको प्रतिक्रिया दिएकी छन्। उनीसँग टेलिफोनमा वार्ता गरेका मानवअधिकारवादी चरण प्रसाईले गंगामाया यो फैसलाप्रति असन्तुष्ट र निरास रहेको तथा भावी कदमबारे निर्णय लिन भोलि उनले वृहत छलफल गर्ने कार्यक्रम रहेको बताए।

झण्डै ६ वर्षअघि पति नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीसहित छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाहीको माग राख्दै अनशन बसेपछि गिरफ्तार भएका उनै छविलाललाई चितवन अदालतमै जमानतमा रिहा गरेको थियो।त्यस लगत्तै भएको अनशपछि तीन सय ३१ औं दिनमा नन्दप्रसाद प्राण त्यागेका थिए।

यसपटक पनि गंगामाया अनशन नतोड्ने अडान लिएपछि दलका नेताहरुको आग्रहमा छविलालले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए, यही असार २८ गते। त्यसको भोलिपल्ट ४७ दिनमा गंगामायाले अनशन तोडेकी थिइन्। तर सोमबार बिहान छविलाल डिल्लीबजारस्थित केन्द्रीय कार्यालयबाट रिहा हुने भएका छन्।

मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको हो। सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारीलगायत रहेको जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए। प्रतिवादी रुद्र आचार्य भने फरार छन् । आयरल्याण्डमा रहेका भनिएका उनको हकमा भने पछि फैसला हुने अदालतले जनाएको छ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवनबाट अपहरणपछि हत्या भएको थियो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको बेला अपहरणमा परेका उनले रत्ननगरको बकुलहरमा हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो।

मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । लामो समय मुद्दा दायर नभएपछि बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन थाले र २०७० चैत ३० गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाड्यो ।

तर, पुनरावेदन हुँदै सर्वोच्चमा निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै अनसन बसेका बेला नन्दप्रसादको निधन भयो । पछिल्लो पटक गंगामाया अनसनमा बसेपछि पौडेलले २४ असारमा सर्वोच्चमा आत्मसमर्पण गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.