छठ : पहाड उक्लँदै, सबै समुदायमा फैलँदै

| 2023 Nov 18 | 07:34 am 1361

केही वर्षअघिसम्म तराई/मधेशमा मात्र सीमित छठ बिस्तारै भित्री मधेश हुँदै राजधानी र पहाडी क्षेत्रसम्म विस्तार

झापा,मङ्सिर २। कपिलवस्तु, लुम्बिनी, जनकपुर, धनुषा, पर्सा — इलाम उक्लिने गौंडामा रहेको झापाको सानो सहर बुधबारेकी रमिता भट्टराई हरेक वर्ष छठ पूजामा सहभागी मात्रै नभई ब्रत नै बस्छिन् । अन्य श्रद्धालुसँगै नजिकैको हडिया खोलामा गएर सूर्यलाई अर्घ दिन्छिन् । भन्छिन्, ‘छठ पर्व हामी सबैको साझा हो जस्तो लाग्छ ।’

छठका लागि सजाइएको वीरगन्जको घडिअर्वा पोखरी परिसरमा बिहीबार साँझ देखिएको झिलीमिली । तस्बिर सौजन्य : मुन्ना सर्राफ

मधेशतिरका तालतलैया र नदी किनारा बेहुलीझैं सिंगारिने नै भए । पहाड–मधेशका संगम नदीहरू पनि यतिबेला झकिझकाउ छन् । महेन्द्र राजमार्ग उत्तर हुँदै बग्ने मेची, निन्दा, टिमाई, हडिया, बिरिङ, टाङटिङ, कन्काई, रतुवालगायत झापाका नदीहरूमा छठको रौनक छाएको छ । मधेशी–पहाडी मिलेर घाट सिंगारिरहेका छन् । छठ पर्व अब मधेश र निश्चित समुदायमा मात्रै सीमित रहेन, पहाड पनि उक्लिन थालेको छ । पूर्वोत्तर झापाको बाहुनडाँगीकी मीरा शर्मा पनि हरेक वर्ष छठमा सहभागी बन्छिन् । तर, ब्रतचाहिँ बस्दिनन् । अन्य ब्रतालुहरूसँग बराबरी सहभागी हुन्छिन् । उनी भन्छिन्, ‘छठ पूजामा सहभागी बन्दा रमाइलो लाग्छ, आनन्द मिल्छ ।’

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार बाहुनडाँगी क्षेत्रमा मधेशी–पहाडी मिलेर छठ मनाउँछन् । स्थानीय राइसिङ खोलामा घाट निर्माण गरिएको छ । छठमा पहाडी समुदायको सहभागिता बढ्दै गएको बताउँदै कार्कीले भने, ‘आगामी वर्षदेखि मेची नदीमै घाट बनाउने योजना छ ।’ झापाको धुलाबारी, भद्रपुर, बिर्तामोडमा माडवारीलगायतका मधेशी समुदायको बाक्लै बसोबास छ । पहाडीहरू पनि उनीहरूसँगै काँधमा काँध मिलाएर छठमा सहभागी बन्छन् । ‘छठ पर्व मधेशीहरूको मात्रै हो भन्ने बुझाइ अब फेरिँदै गएको छ,’ बिर्तामोडका पुराना व्यवसायी सन्तोष अग्रवाल भन्छन्, ‘यसलाई सबैको साझा चाडका रूपमा स्थापित गर्न जरुरी देखिन्छ ।’

बिर्तामोडको अन्दुवा, भद्रपुरको मेची र धुलाबारीको निन्दा नदीमा छठमा मधेशी–पहाडी श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । कनकाई नगरपालिकाको सुरुङ्गाका स्थानीयहरू नजिकैको कनकाई नदीमा पूजा गर्न जान्छन् । कनकाईको पश्चिम–उत्तरी तटमा मधेशी–पहाडी समुदाय मिलेर घाट सिंगारिरहेको माइधारस्थित एक मन्दिरका पुजारी तुलसी दाहालले जनाए । भने, ‘यहाँ हरेक वर्ष साझा छठ मनाइँदै आएको छ ।’ कपिलवस्तु नगरपालिका–३, भिक्षु चोककी उपमा पराजुलीलाई छठले छोइसकेको छ । अघिल्ला वर्षहरूमा पनि छठ पूजामा सहभागी भएकी उनलाई छठीमाताको आशीर्वादले परिवारमा खुसी छाउने विश्वास छ । उनले सुनाइन्, ‘हरेक वर्ष नछुटाई छठ पूजा गरिरहेको छु । यसपालाको तयारी पनि पूरा भइसकेको छ ।’

मधेशी समुदायको भनेर मानिने छठ पूजाको स्वीकार्यता पहाडी समुदायमा पनि बढ्दै गइरहेकाले सहसंस्कृतिको एउटा हिस्सा बन्दै गइरहेको छ । कपिलवस्तु नगरपालिका क्याम्पस टोलकी निरुसिंह रायमाझी पनि यसपाला छठीमाताले मनोकामना पूरा गर्नेमा विश्वस्त छिन् । भनिन्, ‘छठीमाताप्रति अगाध आस्था र विश्वास भएकैले निरन्तर सहभागी छु ।’

कपिलवस्तुमा दशकअघिसम्म पूर्वबाट नोकरी वा व्यापारका लागि आएका एकाध परिवारले मात्रै छठ मनाउने गर्थे । तर अहिले स्थिति फेरिएको छ । छठ बिस्तारै पहाडी समुदायको पनि साझा पर्व बन्दै गरेको छ । मैथिली, अवधि र पहाडी समुदायलाई जोड्ने पर्वका रूपमा छठ विकसित भइरहेको छ । अवधी लोककला विशेषज्ञ पशुपतिमणि त्रिपाठीले छठ मधेशीसँगै पहाडी, नेवार, दलित र जनजाति समुदायमा पनि फैलिँदै गरेको बताउँछन् । सबैले ग्रहण गर्न सक्नु यो पर्वको विशेषता भएको बताउँदै उनले छठले तराई, मधेश र पहाडलाई जोड्ने काम गरिरहेको बताए । भने, ‘पहिले छठलाई तराईवासीको मात्रै चाड मान्थे तर, अब त पहाडी समुदायका महिलाले पनि मनाउन थालेका छन् । यो क्रम बर्सेनि बढ्दो छ ।’ कपिलवस्तु नगरपालिका–१ का अध्यक्ष मोहम्मद जाहिद खाले छठ पर्व जिल्लामा लोकप्रिय र साझा बन्दै गएको बताए । उनी पनि विभिन्न जातजातिकाले एकैसाथ पर्व मनाउँदा आपसी सद्भाव र मित्रता कसिलो बनेको मान्छन् ।

रूपन्देहीको ओमसतिया–४, शान्तिनगरकी ४० वर्षीया विष्णु थापाले छठ पूजा गर्न थालेको ७ वर्ष भयो । तिहारको भोलिपल्टैबाट शाकाहारी भोजन गरेर छठ पूजाको तयारीमा लागेकी विष्णुले प्रत्येक छठमा निराहर ब्रत बस्ने गरेको सुनाइन् । ‘पहिला पहिला छिमेकीले मनाउँदा हेर्न गइन्थ्यो’, उनले भनिन्, ‘सूर्यको पूजा गरेपछि पुकारा पूरा हुने विश्वासले अचेल निरन्तर पूजामा लाग्न थाल्यौं ।’ उनले आफ्नो घरमा दसैंतिहारसरह छठमा रमाइलो गरिने र परिवार सबै जम्मा हुने प्रचलन रहेको बताइन् ।

सिद्धार्थनगर–७ की उर्मिला सिलवालले गत वर्ष सूर्यलाई अर्घ दिएर छठ पूजा गरेको सुनाइन् । सासू विष्णु सिलवालको माइती पश्चिम नवलपरासीको त्रिवेणी गएका बेला छठ परेको र सूर्यलाई पुजेर संकल्प गर्दा अपुरो काम पूरा हुने सुनेपछि आफूले छठ पूजा गर्न थालेको बताइन् । भनिन्, ‘त्यतातिर पहाडी बस्तीका हरेक परिवारले मनाउने चलन रहेछ ।’ पहिलो चोटि छठ पूजामा विवाहित महिलाले नाकदेखि शिरसम्म छुने गरी सिन्दूर लगाएको, राम्रा लुगामा सजिएको, ब्रत बस्नेहरू पानीमा डुबेर स्नान गरी सूर्यलाई फल, जल, चढाएको देख्दा उनलाई साँच्चिकै नौलो लागेको थियो । ‘सबै चाडपर्व हरेक समुदायले मनाउँदा सामाजिक सद्भाव पनि बलियो हुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।

श्री छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५ का संयोजक आनन्दप्रसाद गुप्ताले छठ पूजाकै लागि भने पोखरी मर्मत र पूर्वाधार निर्माणमा नगरपालिकाले ३० लाख र वडाले ८ लाख सहयोग दिएको बताए । उनले स्थानीय तहले पनि यो पर्व सबैको साझा बनाउन भूमिका खेलेको बताउँदै भने, ‘छठ अहिले राष्ट्रिय चाड बनिसकेको छ ।’ ओमसतिया गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा ५ का अध्यक्ष मदनप्रसाद पोख्रेलले पालिकावासी सबैले छठलाई साझा पर्वका रूपमा स्वीकारेको बताए । उनले आफ्नो वडामा मात्रै १२ वटा पोखरी छठका लागि सजाइएको बताए ।

संस्कृतिविद् सीमा दाहालले सामाजिक सञ्जालले पनि चाडपर्वलाई साझा बनाउन भूमिका खेलेको बताइन् । भनिन्, ‘छठमा पहाडी समुदायकाले आफ्ना छिमेकमा रहेका मधेशी साथीको सिको गर्दै छठ मनाउन थालेका पनि देखिन्छ । यसले सहिष्णुताको भाव बलियो बनाएको छ ।’ छठका निम्ति जनकपुर–९ स्थित गोरघोई पोखरीको डिल सरसफाइमा खटिएका छन्, स्थानीय सुरेश कोइराला । जनकपुर ब्रह्मपुरीका पुराना बासिन्दा कोइराला परिवारले छठ मनाउन थालेको १० वर्ष भयो । उनी छठ पर्व सामाजिक एकताका रूपमा विस्तार भइरहेको टिप्पणी गर्छन् । भन्छन्, ‘पर्व कुनै जात विशेषको हुन्न । झन् छठ पर्व त जातीय, धार्मिक र साम्प्रदायिक एकताको मजबुत कडी हो ।’

आसन्न छठ पर्वका लागि सजाइएको काठमाडौंको गौरीघाटमा शुक्रबार साँझ देखिएको दृश्य । तस्बिर : संजोग मानन्धर/कान्तिपुर

जनकपुर–१० की गृहिणी विभा कर्णले छठका लागि घरघरमै ब्रतालु बस्नुपर्ने बाध्यता नभएको बताउँदै भाकल गरेपनि ब्रत बस्न समस्या भए अन्य ब्रतालुले सघाउन मिल्ने भएकाले पनि छठ पर्वप्रति सबै समुदायको आकर्षण बढेको बताइन् । दशकअघि, भित्री मधेशको पोखरी–तलाउमा छठ पर्वको रौनक मात्र हेर्न सकिन्थ्यो । अहिले भने पूर्व–पश्चिम राजमार्गमा रहेका खोलामा छठ पर्वको ठूला पन्डाल लगाइएको देख्न सकिन्छ । सर्लाहीको बाग्मती खोला, रौतहटको चाँदी नदी र बाराको बकैया खोलामा छठ पर्वको तयारी तीव्र छ । खोलामै बाँसले घेरेर घाट बनाइएको छ । यी तीनवटै खोलामा छठ मान्नेमा पहाडी समुदाय नै बढी छन् ।

सर्लाहीको हरिवन–९ मा भने छठ पर्वकै लागि दास टोलमा १० वर्षअघि पोखरी खनिएको थियो । हरिवनका स्थानीय टंकीबहादुर क्षत्रीका अनुसार छठ पर्वबाहेक अरू बेला प्रयोगविहीन रहने पोखरीमा मधेशी, पहाडी, तामाङ, मगर र राई समुदायले धुमधामसँग छठ मनाउने गरेको बताए । ‘छठको बेला दासको टोलको पोखरी जातीय इन्द्रेणीझैं देखिन्छ,’ क्षत्रीले भने, ‘छठ पर्वले जातीय एकतालाई एउटै कडीमा जोड्ने काम गरेको छ ।’

नेपाल–भारतको मिथिला र भोजपुरा क्षेत्रको प्रमुख पर्व छठ आकर्षक, भव्य र व्यापक बन्नुको तीन कारण देख्छन्, विश्लेषक रमेशरञ्जन झा । पहिलोमा प्रवासन, दोस्रो बजार र तेस्रो जलाशय । ‘छठ पर्वमा मुस्लिम समुदायको सहभागिता धेरै पुरानो हो । मिथिला–भोजपुरामा बस्ने मुस्लिम समुदायले दशकौंदेखि छठ पर्व मान्दै आएका छन्,’ संस्कृतिका जानकार झाले भने, ‘पहाडियाहरू प्रवासन भएर तराई–मधेश झरेपछि उनीहरूको सहभागिता पनि छठमा बढ्यो ।’ उनी हरेक समुदायले एकअर्कोको कला, संस्कृति स्वाभाविक रूपमा ग्रहण गर्छन् भन्ने बलियो उदाहरण छठ पर्व बनिरहेको मान्छन् ।

‘छठ पर्वलाई व्यापक र भव्य बनाउनमा बजारको पनि ठूलो हात छ,’ झाले थपे, ‘छठमा प्रयोग गरिने समाग्री पहिला आफ्नै करेसाबारीको उत्पादन हुन्थ्यो । अहिले केरा, नरिवल, मिठ्ठा (गुँड), स्याउ, उखु, मिठाइलगायतका सबै पूजा सामग्री बजारबाटै खरिद हुन्छ ।’ उनका अनुसार ठूलो कारोबार हुने भएकाले छठलाई बजारले पनि उत्प्रेरित गरिरहेको छ । ‘बजारले पनि छठ पर्वको आकर्षण अझ बढाइदिएको छ,’ झाले भने, ‘बजार जहाँ सम्भावना देख्छ, त्यसलाई भव्य र व्यापक बनाइदिन्छ ।’ उनले जलाशयको सुन्दरताले पनि छठ पर्वप्रति अरू समुदायको आकर्षण बढेको मान्छन् । ‘छठ अरू पर्वभन्दा फरक छ । पानी, पोखरी, सरोवर, नदीसँग यो पर्व जोडिएको छ,’ झाले भने, ‘यसले पनि छठपर्वप्रतिको आकर्षण बढाइदिएको छ ।’

छठमा विविध समुदायको सहभागिताले पनि यो साझा पर्वका रूपमा विकसित भइरहेको छ । शंखमूलकी श्रेया भण्डारी विधिवत् रूपमा छठीमाईको पूजा गर्न सप्तरी घर भएकी साथी पल्लबी साहको सहयोगमा मनाउने तयारीमा छिन् । काठमाडौंकै बिना राई र प्रिन्सा झा पनि स्कुलेसखा हुन् । फरक संस्कृतिमा हुर्किएका उनीहरूले एकअर्काको पर्व साझा रूपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष जस्तै यसपाला पनि उनीहरूले नदी घाटमा पुगेर छठ मनाउने योजना बनाएका छन् । बिनाले भनिन्, ‘यो पर्वले एकअर्कालाई झन् नजिक्याउँछन् । सामूहिकताको भाव पैदा गर्छ ।’

साहित्यकार धीरेन्द्र प्रेमर्षीले दशक लामो द्वन्द्वसँगै छठ पर्वको स्वीकार्यता राजधानीमा बढ्न थालेको बताउँछन् । द्वन्द्वकालमा छठ पर्व मनाउन काठमाडौंमा बस्दै आएका मधेशवासीलाई तराई जान कठिनाइ हुने भएपछि काठमाडौंका नदी, पोखरीमा मनाउन थालियो । बिस्तारै अन्य समुदायले पनि यो पर्वलाई पछ्याउन थाले । प्रेमर्षीले भने, ‘अचेल सबै समुदायकाले छठलाई आत्मसात् गर्नुभएको छ, जुन सकारात्मक छ ।’ उनले कुनै निश्चित ठाउँ/समुदायको संस्कृति अर्को ठाउँ/समुदायमा स्वीकार्य र सम्मानित हुँदा त्यसले सामाजिक, सांस्कृतिक सद्भाव बढाउने बताए ।

सजिँदै पोखरी, तलाउ र नदी किनारा

आइतबार साँझ र सोमबार बिहान सूर्यलाई अर्घ दिएर मनाइन लागिएको छठ पर्वको तयारी मुख्यगरी तराई/मधेश र यो सँग जोडिएका पहाडी भूभागमा पनि सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने छठका लागि जनकपुरका पोखरी–तलाउमा रंगीचंगी पन्डाल लगाउनेदेखि सजावट सुरु भइसकेको छ । जनकपुरको प्रमुख तलाउ गंगा सागर, धनुष सागर र अरगजासरको चारैतिरको डिल छठका लागि तयार पारिएको छ । यी तालका अलावा जनकपुरको बिडालसर पोखरीको चारैतिर पन्डाल लगाइएको छ । सर्लाही–महोत्तरीको सीमा नदी बाँकेको दुवै किनार छठका लागि सिंगारिँदै छ ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मूर्लीलगायत घाटहरू सिंगारिएका छन् । जिल्लाको ग्रामीण भेकका पनि सबैजसो गाउँमा छठ घाटहरू तयार पारिएका छन् । देशकै सर्वाधिक ठूलो र भीडभाडयुक्त हुने यो घाटमा बिहान र बेलुका गरी करिब ५ लाख मानिसको आवागमन हुने अनुमान गरिएको छ । कपिलबस्तुमा छठका लागि नदी छेउका जमुवार, रामघाट, सुरई र लक्ष्मणघाट लगायतमा सरसफाइ र लाइटिङ गरी घाट बनाइएको छ । जिल्लाको उत्तरी क्षेत्रका गोरुसिंगे, चार नम्बर र चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउने तयारी देख्न सकिन्छ ।

बाँके नदीमा पानी सुकेपछि छठ मनाउनका लागि खनेर पानी जम्मा गर्नुपर्ने अवस्था आएको छ । अवैध उत्खननका कारण नदी सुकेपछि पानीको मुहान खोज्न डोजर खन्न थालिएको छ ।

गौशाला नागरपालिकाका प्रमुख दीपेन्द्र महतोले छठघाट बनाउन नगरपालिकाको २ डोजर केही दिनयता २४ सैं घण्टा काममा लगाइएको बताए । एक साताअघिदेखि नै डोजरले छठघाट बनाउने काम भइरहेको छ ।

स्थानीय श्रमदानबाट सहजै बन्ने छठघाटका लागि स्थानीय तहको यन्त्र परिचालन गरिएको छ । छठ पूजा समितिले टेन्ट पन्डाल लगाउन ब्रतालुबाट घाट प्रयोग गरेबापत अग्रिम शुल्क उठाएका छन् । पहिले सहर क्षेत्रमा घाटबापतको शुल्क लागे पनि ग्रामीण क्षेत्रमा शुल्क लाग्दैन थियो ।

जनकपुरका लेखक नित्यानन्द मण्डलले पहिले जलाशय वरिपरि सामान्य सजावट हुने छठघाटमा अहिले स्थानीय तहकै लगानी लाग्न थालेको बताए । भने, ‘छठ पूजा पछिल्लो एक दशकयता सजवाटमा देखासिकी, मनोरन्जन, तडकभडक र बजेट खर्च गर्ने पर्वमा परिणत भएको छ । निष्ठाको पर्वमा नक्कल गर्ने परम्परा बढ्न थालेको छ ।(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.