काठमाडौं, असोज २४ : आम दर्शकको बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा तिन आजदेशी देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।
नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।
चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथा वस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए ।
६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुँदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतले छोटो समयमा नै दर्शकको राम्रो साथ पायो यूट्युबमा १ करोड भ्यू पुगेको उपलक्षमा चलचित्र युनिटले केक काटेर सेलिब्रेसन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीत अहिलेसम्मा १ करोड ६४ लाख ३ हजार ६ सय पटक हेरिइसकिएको छ ।
आजबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामा प्रस्तुत गरिएको छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् ।
दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपेन्द्र खनिया, सुमन गिरी (भान्जा), शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, केशव न्यौपाने चलचित्रका निर्माता हुन्।