तनहुँ, माघ १४ः भानु नगरपालिका-९ वाईसजाँगरस्थित अशोक श्रेष्ठको कालिका मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलबाट करिब ५ लाख रुपैयाँ मूल्य बराबरको बिभिन्न कम्पनीका मोबाइल सेट, घडी, रिचार्ज कार्ड लगायतका सामानहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लमजुङ वेशीसहर नगरपालिका-९ घर भएका २३ वर्षीय पूर्ण बहादुर गुरूङ र वेशीसहर नगरपालिका-८ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका- ६ घर भएका २५ वर्षीय विकास गुरूङ रहेका छन् ।
उक्त पसलबाट २०७८ कात्तिक २९ गते धनमाल चोरी भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई चोरी भएका बिभिन्न कम्पनीका मोबाइल सेट ११ थान सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दा शीर्षकमा जिल्ला अदालत तनहुँबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा संलग्न फरार व्यक्ति पक्राउ
बिद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रही फरार रहेको अभियोगमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
खनाललाई बैदेशिक रोजगारबाट फर्कने क्रममा महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खानलले बैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग म्यासेन्जरमा कुराकानी गर्ने क्रममा ललाई फकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारी दु:ख हैरानी दिई पीडितको नग्न तस्वीर / भिडियो प्राप्त गरी निजको श्रीमान् लगायत अन्य आफन्तजनमा सार्वजनिक गरी दिने भनि ब्ल्याकमेल गरेको कसूरमा मुद्दा दर्ता भई फरार रहेका थिए । उनी उपर आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।