पर्सा, माघ २१ः पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित बसपार्क ईलाकाबाट सशस्त्र प्रहरीले करीव ७ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा रेडबुल बरामद गरेको छ । एक यात्रुवाहक बसमा लुकाई छिपाई राखेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीबाट खटिएको सशस्त्र प्रहरीले माघ २१ गते करीव २ लाख २५ हजार रुपैयाँ बराबरको एक थान ड्रोन क्यामरा बरामद गरेको छ । उक्त क्यामरा सशस्त्र प्रहरीले रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ मनमोहन गेटस्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
त्यसवेला उक्त क्यामरा ल्याउने व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो क्यामरा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद क्यामरा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।