मोरङ जिल्लाको जहदा गाउँपालिका १ बुद्धनगर स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको तोरी सहित सोही ठाउँ बस्ने ४० वर्षिय विशालदेव मुखियालाई पक्राउ गरेको छ । प्रदेश १–४–००१ त १२७४ नम्बरको ट्याक्टरमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय ४५ बोरा तोरी सहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी जहदाभुताहबाट खटिएको सशस्त्र
प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ । पक्राउ परेका मुखियालाई बरामद तोरी तथा ट्याक्टर सहित आवश्यक कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाईएको छ ।
लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ बैशाखा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ९० वटा नाईट्रोभेट ट्याब्लेट सहित सोही जिल्लाको कृष्णपुर नगरपालिका ४ बस्ने २१ वर्षिय जीवन ऐडीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज ऐडीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बैशाखाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनको साथबाट ८ सय नेपाली रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका ऐडीलाई बरामद लागूऔषध तथा रुपैयाँ सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।