चोरीको २ वटा मोटरसाईकलसहित भुजेल पक्राउ

| 2021 Jul 19 | 12:59 pm 3209

काठमाडौ, साउन ३ः पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका – ७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

उक्त मोटरसाइकल हिजो आईतबार विहान ८:३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३:०० बजे नै उक्त
मोटरसाईकल सहित १ जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यहि जेठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी न.पा. – ६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.