जुम्ला, असाेज २०ः खलंगास्थित रहेकाे ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति प्रहरीले फेला पार्न सफल भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका छन् ।
उक्त मूर्ति २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५ खलंगास्थित चन्दननाथ मन्दिरबाट चोरी भएका थिए।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाका अनुसार अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु भेटिएको बताए। प्रवक्ता वास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको बताए।
जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले २०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताए। मूर्ति चार हात भएको दायाँको माथिल्लो हातमा तरवार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशुल भएको तल्लो हातमा पाला(दियो) भएको, पाँच ईन्च उचाई पाँच ईन्च गोलाई भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उनले जानकारी दिए।
उनले संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत् १९३४ बैशाख भन्ने मात्र बुझिने चार हात भएको बताए। मूर्तिको दायाँ माथिल्लो हातमा चक्र जस्तो लिएको तल्लो हातमा कमलको फुल बाँया माथिल्लो हातमा गुर्जा, तल्लो हातमा गदा लिएको, कम्मरसम्म मालाजडित टाको र दुवै कानमा पँहेलो जलप लगाएको, वरपर फुलबुट्टे घेरामा छत्र मुकुटको जडित घेरा भएको, उचाई सात ईन्च, गोलाई ९.५ ईन्च भएको चाँदी जस्तो देखिने धातुको भगवानको ८९० ग्राम तौल अर्को मूर्ति फेला पारिएको उनले जानकारी दिए।