चैतभित्र काठमाडौंलाई मगन्तेरहित बनाइने

| 2019 Jan 26 | 02:51 pm 1573

काठमाडौँ, माघ १२ : सरकारले काठमाडाैँका सडक तथा सार्वजनिक स्थलमा भीख माग्नेमाथि कडाइ गर्न थालेकाे छ । यही चैत मसान्तसम्ममा काठमाडौँ जिल्लालाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ ।

सरकारले गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित घाेषणा गरेकाे थियाे । हाल साे अभियानलाई विस्तार गरेर काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको हाे । पशुपति क्षेत्र विकास कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको पशुपति विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार असहाय, अशक्त एवं घरबारविहीन र जाेखिममा रहेकाहरुलाई सरकारले नै परोपकारी संस्थामा बस्ने व्यवस्था गरिने र सडकमा जथाभावी माग्ने तथा माग्नुलाई नै पेशा बनाउनेहरुप्रति भने कडाइ गरिने भएकाे हाे ।

हाल कानूनी रुपमै सार्वजनिक स्थलमा बसेर भीख माग्न नपाइने व्यवस्था गरिएकाे छ । साे‍ व्यवस्थालाई कार्यान्वयन गर्न काठमाडाैँ महानगरपालिकाले मानव सेवा आश्रमलाई मासिक रु १ लाख ६७ हजार घर भाडा तिर्न सहयोग गरेको सूचना अधिकारी वसन्त आचार्य बताउँछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार हाल महानगरपालिकासहित काठमाडाैँका ११ नगरपालिकाका १३८ वडामा गठन भएका नागरिक प्रहरी साझेदारी समितिलाई परिचालन गरी काठमाडाैँलाई मगन्तेरहित बनाउन लागिएकाे हाे । अभियानलाई तीव्रता दिएर आागामी नयाँ वर्ष २०७६ वैशाखदेखि नै काठमाडाैँलाई ‘मगन्तेरहित जिल्ला’ घोषणा गर्ने गृहकार्य शुरु भएको नायब उपरीक्षक पाेखरेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.