काठमाडौं, मंसिर २९ः चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामनपा ११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार रहेका छन् ।
उनलाई विशेष सूचना परिचालन एवं खोजतलास कारवाही संचालन गरी २०७७ मंसिर २८ गते कलंकीबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।
अभियुक्त पोद्दारले आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी–जानी कामनपा १० बुद्दनगर बस्ने नानीबाबु खरेललाई १ करोड ६३ लाखको बैंक चेक काटी दिई फरार रहेका थिए ।
बैंकमा निक्षेप नभएको कारणले रकम भुक्तान हुन नसकेको कारण अभियुक्त पोद्दारले चेक अनादर कसूर गरेको ठहर गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७३ भदौ १५ गते उनलाई १ महिना कैद र ३ हजार जरिवाना हुने तथा १ करोड ६३ लाख बिगो भराउने फैसला भएको थियो ।