-
कृष्ण प्रसाद सापकोटा
काठमाडौं, बैशाख ४ः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको आज बिहीबार २४ औं दिन पुगेको छ । लकडाउनको हल्ला फैलिदै गर्दा लाखौं नेपालीले काठमाडौं उपत्यका छाडेका थिए भने हजारौंको संख्यामा देश बाहिरबाट आउने प्रकृयामा सर्वसाधारण जनता तयारीमा थिए ।

विशेष गरी छिमेकी राष्ट्र भारतबाट हजारौंको संख्यामा नेपाल भित्रिदै गरेका आफ्ना नागरिकलाई सरकारले नेपाल प्रवेशमा रोक लगायो । लकडाउनको सुरुवातसँगै चुलोमा आगो बल्न छाडेपछि हजारौंको संख्यामा मजदुर पैदल हिड्न बाध्य भए । तीन दिन देखि दश दिनसम्मको भोक प्यासलाई वेवास्ता गर्दै कठिन पैदल यात्रा गरेका निरिह जनताको पक्षमा खासै सरकारको जवाफदेहिता देखिएन।
कोरोनाको महामारीबाट भन्दा खाली पेटको चिन्ताले छटपटाएका सर्वसाधारण मजदुरहरु अन्तत् पैदल हिडेरै भएपनि यात्रा गरिरहे । यात्रा गर्नेमा बिरामी, बृद्ध देखि बालकसम्म थिए । हजारौं संख्यामा आफ्नो जन्मभूमि जान हिडेका थुप्रै मजदुर बल्लबल्ल आफ्नो घर पुगे भने कैयौं सुरक्षाकर्मीको रोकावटमा परे । सरकार कोरोना भाइरस संक्रमण नहोस भन्नका लागि जति सचेत बन्नु पर्ने थियो त्यो भन्दा बढी आफ्ना नागरिकको हितका लागि लाग्नु पर्नेमा त्यस्तो देखिएन ।

सरकार भनेको जनताको अभिभावक हो । अभिभावकले आफ्ना नागरिक के कस्तो अवस्थामा छन् भनेर खोजिनीति गर्नु पर्नेमा भेडाबाख्रा थुने झै गरी थुन्ने तर, उनीहरुको दुःख कष्ट प्रति खासै ध्यान दिइएको पाइएन । सरकारले लकडाउनका कारण कोही भोका बस्न नपर्ने बताएपनि दिनहुँ जसो चुलोमा आगो बाल्न नसकेका कारण नागरिकहरु रातदिन नभनी पैदल हिड्न बाध्य छन् ।
बाडिएको राहत सामाग्री पनि वास्तविक पीडितले भन्दा टाठा बाठाले पाएकै कारण नागरिकहरु सयौं किलो मिटर पैदल हिड्न बाध्य भएका हुन् । हरेक अभिभावकले आफ्नो ज्यानको भन्दा सन्तानको ख्याल गरेको हुन्छ । साउको भन्दा ब्याजको माया भने जस्तै आफू एकातिर भोकभोकै बस्नुपर्ने र अर्को तर्फ सन्टान बस्नुभन्दा सँगै जिउने सँगै मर्ने भन्दै जनता पैदल हिडेका हुन् । यसरी पैदल हिड्नेहरु संक्रमणमा छैनन् भन्ने आधार छैन तर, उनीहरुलाई व्यवस्थित ढंगले गन्तव्यसम्म पुर्यादिने र चेकजाँच र तोकिएको निश्चित समय सिमासम्म निगरानीमा राख्नु पर्नेमा सरकारबाट त्यो पनि हुन सकेको छैन ।
आज यो महामारीबाट आतंकित शक्तिशाली राष्ट्रले आफ्नो देशको सेना, प्रहरी लगाएर आफ्ना नागरिकलाई सेवा सुरक्षा दुबै प्रदान गरेको छ । दुर्भाग्यकासाथ भन्नुपर्छ सय पटक सरकार निमुखा र गरिब जनताको कष्टलाई भन्दा लकडाउनलाई नै महत्व दिएको पाइन्छ । कोरोनाको औषधि घरभित्र बस्नु बाहेक अर्को विकल्प छैन तर, सबै नागरिकलाई सम्पन्नशालिकै कोटीमा राखेर एउटै व्यवहार गर्नु उचित होइन । सरकारले आफ्ना नागरिकको हितको लागि बाटो बाटोमा अलपत्र परेकालाई सम्बन्धित क्षेत्रसम्म पुर्याइदिनुपर्छ । उनीहरुलाई चेकजाँच र क्वारेन्टाइनमा राखेपछि आफ्नो जन्मघर छिर्न दिनुपर्छ ।