चीनले दिने आठ लाख डाेज खाेप साेमबार नेपाल आइपुग्ने

रिपोर्ट नेपाल | 2021 Mar 28 | 08:14 am 1753

काठमाडौं, चैत्त १४ः चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउँदैछ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप नेपालका लागि तयारी अवस्थामा राखिएको बताका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा खोप लोड हुँदै गरेको तस्बिर साझा गर्दै नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको आठ लाख डोज खोप बेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको बताइन् । उनले छिट्टै नेपाललाई उक्त खोप हस्तान्तरण गरिने बताइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिनोफार्म कम्पनीको खोप सोमबार नेपाल आइपुग्ने बताएका छन् । उनले अनुदानको उक्त खोप चार लाख ब्यक्तिका लागि पुग्ने बताए । नेपालले हाल कोभिशिल्ड खोप प्रयोगमा ल्याएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको दश लाख खोप पहिलो चरणमा अग्रपंक्तिमा खटेकालाई लगाइसकिएको छ ।

स्वास्थ्य मन्त्रालयले पछि भारतको सिरम इन्स्टिच्युटबाटै २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये दश लाख खोप नेपाल आइपुगेको छ भने बाँकीको दश लाख आउन बाँकी छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले चीनको सिनोफार्म कम्पनीबाटै खोप खरिदका लागि कुराकानी भइरहेको बताए । “कुराकानी भएको छ, खरिद सम्झौता भने भइसकेको छैन् ।”– उनले भने । नेपालमा यसअघि प्रयोगमा आएको कोभिडविरुद्धको खोपभन्दा नयाँ प्रकारको खोप रहेकोले खोप नलगाएको ब्यक्तिलाई सिनोफार्मको खोप लगाइनेछ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.