चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्किदै

| 2019 Jul 26 | 07:50 am 2417

काठमाडाैं, साउन १०:  चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन्। चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन्। चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनी आएका ४४ नेपाली महिला बिगत साढे दुई महिनादेखि बिचल्लीमा परेका थिए। मेन पावर कम्पनीले झुक्याएर सिलाइको काममा पठाएको ती महिला सिलाइको सीप नभएकाले काम गर्न सक्ने अवस्थामा थिएनन्। उनीहरूलाई सम्झौताअनुसार पारिश्रमिक पनि दिइएको थिएन। तसर्थ उनीहरूले आफूलाई पठाउने कम्पास मेन पावर कम्पनी र बेइजिङस्थित नेपाली दूताबासलाई उद्दार गरेर नेपाल फर्काउन अनुरोध गरेका थिए।

कम्पास मेन पावर कम्पनीका गिरिराज घिमिरे र राम कार्कीले चीनमा आएर नेपाली महिलालाई काम गर्न दबाब दिएका थिए। ४४ मध्ये २४ जनाले आफूहरूले काम गर्न नसक्ने बताएपछि बाँकी २० जनालाई भए पनि कम्पास मेनपावरले चीनमै काम गर्न फकाएको थियो। चिनियाँ कम्पनी तानतोङले पनि २० जनालाई काम गर्न दिएर बाँकी २४ जनालाई फर्काउने प्रारम्भिक सहमति भएको थियो। पछि २० जना मध्ये केही महिलाले आफूहरू पनि फर्कने बताएपछि चिनियाँ कम्पनीले कसैलाई पनि काममा नराख्ने बताउँदै चीनमा बसेको र खाएको तथा अन्य कागजाज मिलाउन भएको खर्चबापत प्रतिव्यक्ति ६ सय अमेरिकी डलर माग गरेपछि कम्पास र तानतोङ कम्पनीबीच विवाद सुरु भएको थियो। पछि ३ सय डलर क्षतिपूर्ति लिएर नेपाली महिलाहरुलाई फिर्ता पठाउन सहयोग गर्न अनुरोध गरेपछि त्यही अनुसार सहमति भएको दूताबासका नियोग उपप्रमुख सुशील लम्सालले नागरिकलाई बताए। पछि तानतोङले ६ सय डलर नै चाहिने भनेपछि उद्दारको पर्खाइमा रहेका नेपाली महिलाको नेपाल फर्कने सपना अनिश्चित बनेको थियो।

नेपाली कामदारको टिकट आइसकेको अवस्थामा उनीहरुलाई नरोक्न र राहदानी दिएर सहयोग गर्न भन्दै दूताबासले तान्तोङ कम्पनीलाई क्षतिपूर्ति लिने भए कम्पास कम्पनीमाथि मुद्दा हाल्न सुझाव दिएको लम्सालले बताए। त्यतिगर्दा पनि तान्तोङले नेपाली महिलालाई फर्कने वातावरण नबनाएपछि बुधबार दूताबासले तानतोङको स्थानीय प्रहरीलाई पत्राचार गर्दै बिचल्ली नेपाली महिलालाई स्वदेश फर्काउन सहयोग मागेको थियो। चिनियाँ प्रहरीले बिहीबार तानतोङ कम्पनीमा छापा मारी नेपाली महिलासँग बयान लिएको छ। बयानमा उनीहरूको सम्झौता र न्यूनतम पारिश्रमिकबारे सोधपुछ गरेको एकजना महिलाले बताइन्।

चिनियाँ प्रहरीले छापा मारेपछि तानतोङ कम्पनी हच्किएको छ। चिनियाँ श्रम ऐनअनुसार न्युनतम् पारिश्रमिकभन्दा कममा काममा लगाएमा कारबाही हुने गर्दछ। चिनियाँ प्रशासनले आफैँमाथि कारवाही गर्ने अवस्था आएपछि तानतोङ कम्पनीले बिहीबार बेलुका नेपाली महिलालाई अध्यागमन विभागमा लगेर फोटो खिचाएर उनीहरूलाई नेपाल फर्काउनका लागि कागजपत्र मिलाएको ती महिलाले बताइन्। शनिबार फरकफरक तीनवटा हवाई कम्पनीबाट नेपाली महिला स्वदेश फर्कने लम्सालले बताए। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.