चिसो बढेसँगै उधौली झरे भेडीगोठ

रिपोर्ट नेपाल | 2022 Nov 30 | 08:24 am 1913

सोलुखुम्बु, मङ्सिर १४ः गर्मी याममा हिमाली भेगमा राखिएका भेडागोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झर्न थालेका छन्। जाडो बढेकाले भेडागोठहरू तल्लो भेगमा झारिएको साल्मेको जङ्गलमा भेटिएका ओखलढुङ्गाका भेडापालक व्यवसायी जितबहादुर गुरुङले बताए।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरूले पुस्तौँअघिदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसायजस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडापालक बताउँछन्।

यो पेसा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइन्न, सोलुखुम्बुको सल्यान–५ का एकमात्र राई भेडापालक प्रवेश राईले भने। भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेसा नै सङ्कटमा पर्दै जान थालेको उनको भनाइ छ। अहिले हिमालमा चिसो सुरु भएकाले मध्यपहाडी भेगका जङ्गलमा अधिकांश भेडागोठहरू झार्दै गरेको पाइन्छ।

मुक्लीका परशुराम गुरुङले चिसो याममा पहाड हुँदै तराईसम्म भेडागोठ लाने र फेरि गर्मी याम सुरु भएपछि क्रमशः फर्काउने बताए। भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ, उनले भने। मुख्यतः पूर्वी पहाडका गुरुङ जातिको पुर्ख्याैली पेसा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो समयमा सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेको तथा युवा पुस्ताले सो पेसालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडापालकहरूको भनाइ छ।

कुनै सामुदायिक वन उपभोक्ता समूहले भेडाको चरनक्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुने गरेको व्यवसायीहरू बताउँछन्। “मौसमअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही सामुदायिक वनमा चरिचरनमा रोक लगाएपछि चरन क्षेत्रको अभाव हुन थालेको छ,” मुक्लीका खड्गबहादुर गुरुङले गुनासो गरे।

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकका रूपमा प्रयोग गरिने पाखी तयार गरिन्छ। हिन्दु धर्मवालम्बीका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको महत्व रहेको जानकारहरू बताउँछन्। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.