चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो

| 2019 Aug 15 | 04:04 pm 2992

सङ्खुवासभा, साउन ३० : चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् ।

कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । विगत दुई वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् ।

चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वीपहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ । त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीका रुपमा रुद्राक्ष रहेको छ । ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ ।

पछिल्लो समय रुद्राक्षको बोटमा क्लिप तथा विषादी प्रयोग गर्ने क्रम बढ्पछि यसको व्यवसाय नै संकटमा पर्न सक्ने देखिएपछि किसानहरु चिन्तित भएका छन् । रुद्राक्षलाई कृत्रिम बनाउन अहिले बगानै ठेक्का लिएर रुद्राक्षको बोटमा विषादी हालेर अप्राकृतिक बनाउन थालिएको हो । विषादी र मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकार बनाउँदा पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ । रुद्राक्षको कृत्रिम उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् ।

चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकताअनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरु उत्पादन गरिरहेका छन् । व्यापारका लागि चिनियाँहरुले दुई वर्षअघिदेखि बोटमै विषादी र क्लिप प्रयोग गरेर कृत्रिम आकार बनाई बेच्ने गरेका छन् । चिनियाँ व्यापारी रुद्राक्षको व्यापार गर्न आठ वर्षअघि सङ्खुवासभा र भोजपुरका विभिन्न क्षेत्रका गाउँबस्तीमा बस्ने गरेका देखिन्छ ।

दुई वर्षदेखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लिपबाट कृत्रिम दाना उत्पादन गरेको भन्दै केही स्थानमा प्रशासनले रोक लगाए छ । तर अझै रुद्राक्षलाई कृत्रिम बनाउने काम भने रोकिएको छैन । व्यापारीले विषादी र क्लिपको सहायताले कृत्रिम दाना उत्पादन गरेका रुद्राक्षले यसको महत्व घट्दै गएको भन्दै कृषकहरु चिन्तित भएका छन् ।

कृत्रिम उत्पादनले रुद्राक्ष बिक्रीमा समस्या हुन थालेको चैनपुर–६ का टीकादत्त गौतमले दुखेसो पोखे । चिनियाँ व्यापारीले यस वर्ष रुद्राक्षको चिचिलै अवस्थामा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न लागिपरेका छन् ।

चिनियाँ व्यापारीले गत वर्ष सङ्खुवासभाको चैनपुर–११ लोहाकोटमा रु १५ लाखको ठेक्कामा लिइएको रुद्राक्षमा विषादी प्रयोग गरिएको रहस्यसमेत खुलेको छ । विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने भए पनि एक महीना नबित्दै त्यसको रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्या देखिएको छ । त्यसले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष चक्र बिसुन्केले जानकारी दिए ।

विषादी प्रयोग गरी उत्पादन भएका रुद्राक्ष बिक्री हुन समस्या भएको समेत उनले बताए । गत वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यस वर्ष राम्रा रुद्राक्ष फल्न छाडेको उनको भनाइ छ । विषादी र क्लिप प्रयोग भएका रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरीद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मै धमिल्याउन चिनियाँ व्यापारी लागिपरेको सङ्घका अध्यक्ष बिसुन्केले बताए । विषादी प्रयोग गरेर गुणस्तरीय दाना उत्पादन गर्न अहिले भोजपुर, सङ्खुवासभासभा र धनकुटामा यसको लहर चलेको छ ।

कृत्रिम उत्पादनले चिनियाँ र भारतीय व्यापारीलाई समेत रुद्राक्ष निर्यातमा समस्या हुन थालेको व्यवसायीको गुनासो छ । रुद्राक्षले कृषकका वर्षौँसम्म आम्दानी दिनसक्ने बोटसमेत बिग्रिएको उनीहरुको भनाइ छ । बिगारिएको रुद्राक्ष अहिले झुक्याएर चीन र भारत बिक्री भए पनि त्यो लामो समय कायम हुन नसक्ने बताए । विषादी प्रयोग गरेर आवश्यकताअनुसार जति पनि रुद्राक्ष उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा रुद्राक्ष व्यवसाय बन्द हुनसक्ने अवस्था आएको छ ।

विगतमा इण्डोनेशियामा यसरी नै विषादी प्रयोग गरेर कृत्रिम बनाइएको रुद्राक्ष बहुमूल्य रह्यो । तर अर्को पटक गुणस्तरीय रुद्राक्ष उत्पादन नहुँदा व्यवसाय नै बन्द भएको व्यापारीहरु बताउँछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.