काठमाडौँ, भदौ २३ : प्रहरीले चीन विरोधी गतिविधि गरेको भन्दै चिनियाँ राजदूतावास अगाडिबाट ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ९ जना नै महिला हुन् । सो समूहका इन्चार्ज सीता ज्योती रहेको प्रहरीले जनाएको छ ।
विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै ९ जना महिलाको समूहले ‘चेलीबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका थिए। उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीका इन्सपेक्टर विशाल तामाङको टोलीले पक्राउ गरेको हो ।
प्रदर्शनकारीले चीनमा नेपालका चेलिबेटी बेचविखन हुने गरेको त्यसको नियन्त्रणका लागि दवाव स्वरुप प्रदर्शन गरेको दावी गरेका छन् । महानगरीय प्रहरी वृत्त कमलपोखरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोककी सीता ज्योती, काठमाडौं जडिबुटीकी उर्मिला पन्थी, ललितपुर लगनखेलकी शोभा डंगोल, जडिबुटी बस्ने पुनम ठकुरी, तेह्रथुम घर भएर हाल कोटेश्वर बस्ने मीना श्रेष्ठ र सुनसरीकी निर्मला ठकुरी लगायतका छन्।
नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।यता, चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणको क्रममा आइतबार सााझ मात्र नेपाल आएका छन् ।