काठमाडाैं, चैत २३ः केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला काठमाडाैं कागेश्वरी मनहरा नगरपालिका ६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका १६ की ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा.वि.स. वडा नं. ८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २ का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन् ।
उनीहरूलाई अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा संरक्षित वन्यजन्तुको आखेटोपहार सहित आइतबार पक्राउ गरिएको व्यूराेले जानकारी दिएकाे हाे । पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडाैं पठाईएको बताइएकाे छ ।