चितवन कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

रिपोर्ट नेपाल | 2022 May 18 | 07:42 am 1661

चितवन, जेठ ४ः कारागार कार्यालय चितवनमा हाल ७ सय ४१ कैदीबन्दी रहेका छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ ।

कारागारमा जबरजस्ती करणीका २ सय ८ कैदीबन्दी रहेका हुन् । अन्य १ सय ४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये एक महिला बन्दी हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबरजस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन् । यस कारागारमा दोस्रो ठूलो संख्यामा लागुऔषधसम्बन्धी कसूरका कैदीबन्दी छन् । लागुऔषधसम्बन्धी कसूरका १ सय ४० कैदीबन्दी रहेको उनले बताए ।

लागुऔषधसम्बन्धी कसूरमा १० महिला र १ सय ३० पुरुष कारागारमा छन् । उनीहरु २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ जना महिला गरी १ सय २ छन् । गैंडाको खाग बिक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ रहेको कार्यालयले जनाएको छ ।

यस्तै अन्य डाँका, ज्यानमार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव मेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठ चोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन/प्रहरी, सम्पत्ती शुद्धिकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन् ।

आचार्यका अनुसार उनीहरुसँगै दुई जना आश्रित नाबालिका रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिए । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उनले बताए । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो ।

यस कारागारमा क्षमता भन्दाबढी कैदी बन्दी रहेका छन् । २ सय ५५ जनाको क्षमता रहेको पुरुष कैदी बन्दी गृहमा ६ सय ९० जना र २५ जना कैदी बन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.