चिकित्सा शिक्षा विधेयकको छलफलका लागि मन्त्री आए, सांसद अनुपस्थित

| 2018 Nov 01 | 01:10 pm 1484

काठमाडौं, कार्तिक १५ : संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तरगत चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमिति बैठकमा सांसदहरु नै अनुपस्थित भएका छन् ।

बिहीबार बिहान सवा १० बजे बोलाइएको बैठकमा सांसदहरु नआएपछि आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। बैठकमा छलफलका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने उपस्थित थिए। उनी झण्डै एक घण्टा सिंहदरबारस्थित समितिको कार्यालयमा सांसदहरुलाई कुरेर मन्त्रालय फर्केका हुन्। विधेयक माथि छलफल गर्न मन्त्रीलाई डाकेर सांसद्हरु नै नआएका हुन्। बैठकमा सहभागी हुन उपसमितिका सदस्य सांसदहरु खगराज अधिकारी र एकवाल मियाँमात्र समितिको कार्यालय आएका थिए।

सांसदहरु अञ्जना विंशेखे, भैरवबहादुर सिंह, योगेशकुमार भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगनकुमार थापा र चित्रलेखा यादव बैठकमा आएनन्। उनीहरुलाई बैठकमा आउन बुधबार नै समितिको कार्यालयले खबर गरेको थियो।

चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११ सदस्यीय समिति गठन गरेको छ। उपसमितिका ५ जना सदस्य बुधबारकै बैठकमा उपस्थित थिए। उनीहरुकै सल्लाहअनुसार बिहीबार बिहानलाई बैठक डाँकिएको थियो। तर उनीहरु नै अनुपस्थिति भए।

प्रतिवेदन तयार पारेर विधेयक मंसिर २ गतेसम्म संसद्मा दर्ता गर्ने समितिले कार्यतालिका तय गरेको थियो। उपसमितिको बैठकमा सांसदहरु नै अनुपस्थित भएपछि छलफल र प्रतिवेदन तयार गर्ने काम अनिश्चित हुन पुगेको छ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै आन्दोलनरत अभियान्ता डा. गोविन्द केसीले विधेयक संसद्बाट पास गर्न ढिलाइ भए पुन: अनसन बस्ने चेतावनी दिदैं आएका छन्। सांसदहरुले विधेयक पास गर्न ढिलाइ गर्न नहुने भन्दै समितिबाट चाँडो टुङ्गो लगाउन सुझाव दिएका थिए। समितिको बैठक पनि मंसिर २ गतेलाई नै बोलाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.