चितवन, भदौ १८: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन्।
चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आज (सोमबार) बिहान गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति देउवाले चिकित्साजस्तो संवेदनशील विषयलार्इ कानुनले बार लगाउन नहुने बताएका छन्।
सभापति देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरूले देशव्यापी गरिरहेको आन्दोलनमा काँग्रेसको समर्थन गरेको समेत बताए। चिकित्सकहरूका जायज माग सम्बोधन हुनुपर्ने देउवाको भनाई छ। सभापति देउवाले मुलुकी संहिता सबैको छलफल गरेर नै ल्याए पनि अहिले विरोध सिर्जना भएकोले समय सापेक्ष अनुसार संशोधन गर्नुपर्ने प्रतिक्रिया दिए ।
उनले मुलुकी संहिताको धेरै विषयमा विरोध भइरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।
सभापति एवं म पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारका पछिल्ला गतिविधि सही ढङ्गले अघि बढ्न नसकेको बताए। देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक फरक संगठन भएकोले एकलाई अर्कोसँग जोड्न नहुने देउवाको तर्क छ।
यस्तै उनले संयुक्त सैन्य अभ्यासका बारेमा सबैको सहमति नभएकोले छलफलपछि मात्रै टुंगो लाग्ने बताए । सभापति देउवाले देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे।