चाेरीकाे माेटरसाइकल सहित एकजना पक्राउ

| 2023 Jul 05 | 06:52 pm 2865

काठमाडाैं, असार २० ।  चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका ५ बाउनधाराबाट एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको राजदेवी नगरपालिका १ पाथरा घर भई हाल काठमाडौँको बानेश्‍वर बस्दै आएका १६ वर्षीय विकाश तिवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उदयपुरको कटारी नगरपालिका १२ घर भई हाल काठमाडौँको नागार्जुन बस्ने रेख बहादुर कटुवालले गत फागुन २९ गते काठमाडौँको कलंकी स्थित भट्टराई गाउँबाट बागमती प्रदेश ०२-०१९ प ४३ ६६ नम्बरको १ सय ५० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए ।

वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३२ प ३४ ५२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले तिवारीलाई मोटरसाइकल सहित फेला पारी बाउनधाराबाट हिजो दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तिवारीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कालीमाटीमा पठाईएको प्रहरीले जनाएकाे छ ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।  हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्ट बताए  ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.