चार वर्षमा साढे ४ हजार महिला बलात्‍कृत !

| 2018 Aug 23 | 07:30 am 1963

काठमाडौं, भदौ ७: दिनानुदिन महिला बलात्कारका घटना बढीरहेका छन‍्। पछिल्लो चार वर्षको तथ्यांक हेर्दा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भएका छन्।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका बलात्कृत हुने गरेका छन्। त्यसपछि १० वर्ष उमेरसम्मका बालिका बलात्कृत भएको घटना धेरै छन्। १७ देखि १८ वर्ष उमेरका किशोरी बलात्कृत हुने संख्या पनि त्यतिकै धेरै छ। १९ देखि २५ वर्षसम्मका युवती मात्रै होइन, ४५ वर्षभन्दा माथिका महिला पनि बलात्कारको सिकार हुने गरेका छन्।

त्यससध्ये १० देखि १६ वर्ष उमेरका १ हजार ३ सय १३ बालिका बलात्कृत भएका छन्। १० वर्षसम्मका ८ सय २० जना बलात्कृत भएका छन्। १७ देखि १८ वर्ष उमेरका किशोरी ४ सय ५१ जना र २० वर्षमाथिका १ हजार ५ सय १६ जना बलात्कारको सिकार भएका छन्।

पछिल्लो चारवर्षमा सबैभन्दा धेरै ०७४/०७५ मा बलात्काकार घटना भएका छन्। ०७१/०७२ मा ९८१ जना, ०७२/०७३ मा १०८९, ०७३/०७४ मा ११३१ र ०७४/०७५ मा १२४४ जना महिला बलात्‍कृत भएका छन्।

१३ वर्षीया बालिका गोदावरीको जंगलमा बलात्कृत

बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ। उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘घटना ‘कम्प्लिकेटेड’ छ। अहिले नै थप नबोलौँ। हामीले गम्भीर रूपमा लिएका छौँ। अनुसन्धान सुरु भइसकेको छ,’ ललितपुर प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने। महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ। तर, रिपोर्ट आइसकेको छैन। बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ। घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको नयाँ पत्रिका दैनिकमा खबर छ।

१ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ। संहिताको २१९ दफाको उपदफा ३ (ख)मा यो व्यवस्था छ।

यसरी भयो घटना

पीडित बालिका ‘मालिक’को घरमा खुसी थिइनन्। आफ्नै घर गोरखा फर्किन चाहन्थिन् । मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन्। एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे। तर, तिनले बालिकालाई गोदावरी जंगल पु-याई बलात्कार गरे र फरार भए। बालिका जंगलमै अलपत्र परिन् । स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे। त्यसलगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे। प्रहरी घटनास्थल पुग्यो र उद्धार ग-यो। अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.