चार महिनापछि एक हजारमा दुईवटा हात्ती

| 2020 Jan 27 | 02:32 pm 2429

काठमाडौं, माघ १३: अब नेपाल राष्ट्र बैंकले एक हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ भने अब त्यही ठाउँमा नेपाली हात्तीको तस्बिर राखिने निर्णय भएको नोट डिजाइनर सुन्दर श्रेष्ठले जानकारी दिए ।

जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए ।

नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको हो । नोट छपाईमा पनि गइसकेको बताइएको छ ।

केही वर्षदेखि नेपाली नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ।

अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.