कास्की, असार १९: स्वतन्त्रबाट गण्डकी प्रदेश सांसदमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) अन्तत सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । पोखरामा बिहीबार आयोजित एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।
सांसद गुरुङसँगै नेत्रविक्रम चन्द विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपामा प्रवेश गरेका छन् । पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री गुरूङले मनाङेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका थिए ।
फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।