काठमाडाैं, भदाै २०ः गत वर्ष कोभिड महामारीबीच पनि नेपाली उद्योगबाट ७ अर्ब ३४ करोड मूल्य बराबरको धागो निकासी भएको छ । नेपाल धागो उत्पादक संघका अनुसार मुलुकमा हाल रिलायन्स, त्रिवेणी, जगदम्बा र जया स्पिनिङ मिल्सलगायत अन्य धागो उद्योग सञ्चालनमा छन् । यी उद्योगले गत वर्ष अघिल्लो वर्षभन्दा ३५ प्रतिशत निकासी वृद्धि गरेका हुन् ।
अघिल्लो वर्ष २०७६-०७७ मा यी उद्योगबाट ५ अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरको धागो निकासी भएको थियो । आव २०७५-०७६ मा भने यी उद्योगले ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको धागो निकासी गरेको केन्द्रीय बैंकको तथ्यांक छ । गत आवमा भने कुल वैदेशिक निकासीमा धागोको हिस्सा ५.२ प्रतिशत छ, जुन भटमास तेलपछिको दोस्रो हो ।
स्पिनिङ मिलहरूले स्वदेशी कपडा उद्योगलाई आवश्यक धागो बिक्री गरी बाँकी धागो निकासी गर्ने गरेका छन् । भारतलगायत सीमित मात्रामा बंगलादेशमा नेपाली धागो निकासी हुने गरेको छ । धागोको मुख्य बजार भने टर्की हो । यता, स्वदेशी कपडा उद्योग संकटमा रहेकाले स्वदेशमै खपत पनि न्यून छ । बजेटले उपलब्ध गराएका सुविधा प्राप्त गर्न नसकेको तथा चोरी पैठारी र न्यून बिजकीकरणका कपडाका कारण स्वदेशी कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन नै हुन नसकेको कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्र लोहिया बताउँछन् । कपडा उद्योग सञ्चालनमा ल्याउन सके स्वदेशी कच्चा पदार्थ धागो स्थानीय उद्योगमै खपत हुने र तयारी कपडाका लागि वार्षिक अर्बौं रुपैयाँ बचत गर्न सकिने उनी बताउँछन् ।
मुलुकका सबैजसो धागो उद्योग ठूला घरानाद्वारा सञ्चालनमा आएका हुन् । रिलायन्स स्पिनिङ मिल्समा पवन गोल्यान र शशीकान्त अग्रवालको संयुक्त लगानी रहेको छ भने त्रिवेणी स्पिनिङ मिल्स संघई समूहले सञ्चालन गरिरहेको छ । जगदम्बा स्पिनिङ मिल्समा पनि शंकर समूह र सौरभ समूहको संयुक्त लगानी रहेको छ । यस्तै जया स्पिनिङ मिल्समा ज्योति समूहको लगानी रहेको छ । सरकारी लगानीको बुटवल धागो उद्योग केही वर्षअघि नै बन्द भइसकेको छ भने ज्योति समूहले नै लगानी गरेको ज्योति स्पिनिङ मिल्स माओवादी सशस्त्र युद्धका बेला आगलागीको कारण देखाउँदै बन्द गरिएको थियो । ज्योति स्पिनिङ मिल्स पब्लिक कम्पनीसमेत हो ।
धागो उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने तथा निकासीका माध्यमले विदेशी मुद्रा पनि आर्जन गर्ने गरेका कारण यसलाई संरक्षण गर्नुपर्ने उद्योगीहरू बताउँछन् । नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान सरकारले सहजीकरण गरेमा बंगलादेशमा नेपाली धागो निकासी सम्भव रहेको बताउँछन् । विश्व बजारमा बंगलादेशी टेक्सटाइल उद्योगको हिस्सा उल्लेख्य रहेका कारण त्यस क्षेत्रमा नेपाली धागोको बजार सम्भावना पनि अथाह रहेको उनको भनाइ छ । काराेबार दैनिकबाट