बागलुङ, साउा २८: सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन्। स्वास्थ्यकर्मीले चार/चार घण्टामा आउनु भनेर फर्काए ।
दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो। स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए। साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन्। त्यसपछि बल्ल भित्र पठाइयो।
राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन्। प्रसव पीडा सहनै नसक्ने भएपछि राति २ बजे पोखरा जानु भनेर स्वास्थ्यकर्मीले रेफर कागज बनाइदिए। अस्पतालमा एउटा पनि एम्बुलेन्स थिएन। आफन्तले ट्याक्सी खोजेर पोखरा कुदाए। अविरल वर्षाले पर्वत र कास्की सीमा नजिकै पुग्दा ठूलो पहिरो खसेर बाटो अवरुद्ध थियो। जीसी छटपटाएर साह्रै भएपछि आफन्तले एम्बुलेन्सबाट उतारेर नजिकैको एक घरमा राखे।
पर्वतको भ्याप्ले खोलामा अलपत्र पर्दा जीसीकी दिदी पम्फा खडकाले जिल्लाका सांसदसहित धेरै जनालाई फोन गरेर सहयोग माग्दै हेलिकप्टर पठाइदिन गुहार मागिन्। मौसमको समस्या र रातको समय भएकाले त्यो पनि सम्भव भएन।
बिरामीको छटपटाहट कम नभएपछि राति नै फर्काएर पर्वत जिल्ला अस्पताल पुर्याइयो। अस्पतालकी प्रमुख डा. हेमा छन्त्यालले राति उठेर अपरेसन गर्ने तयारी गरिन्। प्राविधिक कारणले अपरेसन हुन सकेन। अस्पतालमा बिरामीलाई चाहिने औषधि अभाव थियो। त्यसपछि डा. छन्त्यालले बिहान ४ बजे म्याग्दी जिल्ला अस्पतालका प्रमुख डा.रोशन न्यौपानेलाई फोन गरिन्।
सबै सामग्री तयार राख्न भनेपछि बिरामीलाई लिएर आफैं बेनी अस्पताल पुगिन्। बेनी पुगेको २० मिनेटमै अपरेसन सफल भयो। डा. छन्त्याल र न्यौपानेले जीसी र बच्चाको ज्यान बचाए।
चिकित्सकका अनुसार प्रसूति बेथा लागेको १० घण्टापछि गरिएको अपरेसनबाट दुवैको ज्यान बचाउन सकिएको यो जिल्लाकै नमुना घटना भएको खबर कान्तिपुरमा छ।
बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले बिरामीलाई पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा रेफर गरेको थियो। कानुनी अधिकार नभए पनि डा. छन्त्यालले अपरेसन गर्ने निधो गरेकी थिइन्। ‘छटपटाएर मर्नुभन्दा प्रयास गरौं भनेर हामीले अधिकार दियौं,’ जीसीका श्रीमान् शंकरले भने, ‘उपचार हुँदैन भनेर समयमा जानकारी पनि पाएनौं।’
भारतीय सेनामा कार्यरत शंकर श्रीमतीलाई सुत्केरी बेलामा हेरचाह गर्न दुई साताको बिदा मिलाएर आएका थिए। आफ्नो जिल्लाको अस्पतालको बेवास्ताले एउटा बिरामीलाई चार जिल्ला घुमाएर प्रसूति गराउन बाध्य भएको उनले गुनासो गरे। यस्तो समस्या पर्दा धौलागिरि अञ्चल अस्पतालबाट सहयोग नपाएको जीसीका आफन्तले बताए।
धौलागिरि अञ्चल अस्पतालमा एक वर्षदेखि एनेस्थेसिस्ट, प्रसूति, अर्थोपेडिक र बालरोगसहितका १६ जना विशेषज्ञ डाक्टर अभाव छ। विशेषज्ञ नहुँदा जटिल अवस्थामा अपरेसन गर्न नसकिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए।
‘विशेषज्ञ कोही आउँदैनन्, आएका पनि मन्त्री फेरिँदा फर्कन्छन्। कसरी सेवा दिने, म हैरान भएको छु,’ उनले भने, ‘कम्तीमा नभई नहुने विशेषज्ञ पठाइदिनुपर्यो भन्दा पनि वास्ता भएन।’