चामलसँग पिठो साट्ने काइदा

| 2022 Feb 16 | 07:40 am 1725

काठमाडाैं, फागुन ४ः गएको आर्थिक वर्षको ६ महिनामा नेपालले जति वस्तु निर्यात गरेको थियो, त्यसको दाँजोमा चालू वर्ष ९५.६१ प्रतिशत धेरै मात्रा निर्यात गरेको छ। तर, आश्चर्यलाग्दो कुरा के छ भने त्यसमा आफ्नै उत्पादनको मात्रा कम छ। त्यसैले निर्यात वृद्धिको खबर पूरापूर खुसी हुनुपर्ने खबर होइन। जुन वस्तु निर्यात गरिन्छ, त्यसको कच्चा पदार्थ भने आयातीत नै छ। अझ कच्चा पदार्थ किन्न अमेरिकी डलर खर्चनुपर्छ भने निर्यात भारतमा हुन्छ र भारु भित्रिन्छ। डलरमा किनेर भारुमा बेच्नु भनेको चामलसँग पिठो साटेजस्तै काइदा हो। डलर विश्वव्यापी अन्तर्राष्ट्रिय मुद्रा हो भने भारु भारतसँगको व्यापारमा बाहेक काम लाग्दैन।

नेपालबाट अत्यधिक निर्यातको वस्तुमा परेको छ, पाम आयल। जसको कच्चा पदार्थ तेस्रो मुलुकबाट भित्रिन्छ र बिक्री हुन्छ भारतमा। भटमासको तेलको हालत पनि उही हो। निर्यातमा यी दुई वस्तुको मात्रा ५६.४६ प्रतिशत छ। जब कुल निर्यातको त्यतिका हिस्सा त्यस्ता वस्तुले ओगटेका छन् भने खुसी हुने कसरी ? यी वस्तुको निर्यात व्यापार दीर्घकालीक र टिकाउ हुने खाले होइनन्। भारतमा पाम तेल आयातको भन्सार धेरै र नेपालमा थोरै हुनाले मात्रै अहिले नेपालमा पामआयत प्रशोधन भएर भारत जान सकेको हो। जुन दिन भारतले भन्सार घटाइदिन्छ, त्यसपछि नेपाली उत्पादन हिस्स पर्ने नै छ। कच्चा पदार्थ अन्तबाट ल्याउनै नहुने पनि होइन तर त्यसमा हामीले कति मूल्य अभिवृद्धि गर्न सक्छौं भन्ने मुख्य कुरा हो।

निर्यातभन्दा आयात धेरै गर्ने मुलुक हो हाम्रो। त्यसैले त व्यापार घाटा चर्काे छ। निर्यातयोग्य वस्तुकै कच्चा पदार्थ आयात भइरहन्छ भने व्यापार घाटा कम गर्न झन् मुस्किल हुने नै भयो। चालू आवको ६ महिनामा नेपालले निर्यात गरेका सामानको भन्दा आयात गरेका सामान ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ धेरैका थिए। भन्सार विभागको तथ्यांकले त्यसै भन्छ। जुन बितेको आवको दाँजोमा ४६.६४ प्रतिशतले बढी हो। खाँटी स्वदेशी वस्तुकै उत्पादन वृद्धि गर्ने र निर्यात गर्ने नगरी मुलुकले व्यापार घाटाबाट मुक्ति पाउँदैन।

हामीले सबैभन्दा धेरै मूल्यको आयात गर्ने वस्तुमध्ये एक हो, पेट्रोलियम पदार्थ, जसको तत्काल स्वदेशमै उत्पादन सम्भव नहोला। तर अरू थुप्रै त्यस्ता वस्तु छन्, जसको उत्पादन र निर्यात सम्भव छ। हाम्रो गाउँघरका खेतबारी बाँझै छन् तर भटमास आयात गर्नु परेको छ। भटमास मात्रै किन हामी मकै आयात गर्छाैं, आलु, प्याज, गोलभेंडा, बेसार आदि आदि थुप्रै चिज आयात गर्छाैं। अझ भारतबाट मात्रै होइन, हाम्रो भान्छामा सधैं चाहिने यस्ता थुपै्र चिज हामीले विदेशकै प्रयोग गरिरहेका छौं। दक्षिण अमेरिकी देशहरू अर्जेन्टिना र ब्राजिलबाट मकै आउँछ। अमेरिकाबाट चामल आउँछ। कोरियाबाट लसुन आउँछ। रुसबाट धनियाँ आउँछ। कृषि उपजकै आयात खर्बमा छ।

त्यसो त खाद्यवस्तुको आयात गर्नु भनेको क्रयशक्ति वृद्धि हुनुसँग जोडेर सकारात्मक रूपमा लिने पनि गरिन्छ। तर कृषिभूमि हुँदाहुँदै त्यसो गर्नुलाई सकारात्मक लिन सकिन्न। हामीसँग भएको खेतीयोग्य भूमिको सही सदुपयोग नहुनु, कृषिमैत्री नीति नियम नहुनु, बजारीकरणको वातावरण बन्न नसक्नुलगायत कारण कृषिवस्तुको आयात भइरहेको छ। कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान दिने कृषिमा सरकारी लगानी केवल ३.३ प्रतिशतमात्रै छ। यसले नै देखाउँछ कृषिमा सरकारको प्राथमिकता। आयात प्रतिस्थापनको अचुक उपाय नै कृषिमैत्री नीति नियम र वातावरण बनाउनु र सरकारी लगानी वृद्धि गर्नु हो। बेलामा किसानले बिउ पाउने, मल पाउने, खेतबारीमा सिँचाइको सुविधा र बजारको सुनिश्चितता भइदिने हो भने कृषिमा हामी आयातमा भर पर्नु पर्दैन। बरु निर्यातै गर्न सक्छौं। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.