झापा, असोज ४ : चाडपर्व नजिकिएसँगै पूर्वमा भन्सार छलेर अवैध सामान ओसारपसार गर्ने क्रम बढेको छ । विशेष गरी दसैँलाई लक्षित गरी भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएको कपडा भण्डार गरी बिक्री हुने गरेको पाइएको हाे।
राजश्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल तथा राजस्व अनुसन्धान गुल्म इटहरीले मंगलबार बेलुका बिर्तामोडको एक गोदाममा छापा मारेर करिब ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, राजस्व अनुसन्धान गुल्म इटहरीका प्रहरी नायव उपरीक्षक रामकुमार सिंहको नेतृत्वको टोलीले झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकमा रहेको गोदाममा छापा मार्दा २६ पोका कपडा बरामद गरेको हो।
बरामद गरिएको लत्ताकपडाको आवश्यक कागजात नभेटिएपछि राजस्व अनुसन्धान गुल्मले कारबाहीका लागि पूर्व क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । उक्त सामान इलामको पशुपतिनगरबाट भित्र्याइएको खुलेको छ । गोदाम रहेको घरधनी राजविराज जैनलाई नियन्त्रणमा लिएपछि उक्त कुरा खुलेको प्रहरीले बताएको छ । घरधनी जैनले गोदाम भद्रपुरका चन्दन कामतीलाई भाडामा दिएको बताएका छन् ।