मकवानपुर, साउन २३: हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा बिहान ९ बजेदेखि लागेको आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।
आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिन नसकिएपछि हलको पछाडि भागबाट नियन्त्रणको प्रयास थालिएको हेटौडा प्रहरीले जनाएको छ । हलमा मर्मत सम्भार चलिरहेकोले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी पूर्ण नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आइपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
चलचित्र हलभित्रबाट शुरु भएको आगलागी नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत स्थानीयहरु सक्रिय रुपमा लागी परेका छन् ।
आगलागी के कसरी भयो भन्ने विषयमा वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको स्थानमा करेन्ट सर्ट भई आगलागी भएको अनुमान गरीएको छ । आगलागीका बारेमा अनेक अड्कलबाजी गरीए पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।