मोरङ, असार ९ : चन्द समूहका मोरङ अध्यक्ष अशोक राई सहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बेलबारी नगरपालिका–३ स्कुल डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी–२ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाल पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। यस्तै, प्रहरीले लुकाइछिपाइ राखेको दुई थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली र ३ नाल भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
‘प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले कंशको घरमा हतियार लुकाएर राखेको खुलेको थियो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘तत्काल उनको घर चेकजाँच गर्दा रातो झोलामा राखिरहेको अवस्थामा दुई थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली बरामद भयो।’
थप अनुसन्धानको क्रममा सालबारीमा केही हतियार राखेको खुलेको अधिकारीले बताए। ‘तत्काल प्रहरी परिचालन गरेर सोमबार केन्द्रलाललाई नियन्त्रणमा लिई उनको घरमा खोजी गर्दा ३ नाल भरुवा बन्दुक त्यसमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा बरामद भयो,’ उनले भने, ‘तीन थान बन्दुकमध्ये एउटा लोड भएको अवस्थामा बरामद भएको छ।’
उनीहरुलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।