भोजपुर, जेठ ७: प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वका (नेकपा) कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको बताए ।
प्रहरीले चलाएको गोलीबाट विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।
धोत्लेखानी जंगलमा हतियारसहित ३०र३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाएको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेको प्रहरी निरीक्षक राजवंशीको भनाई छ । अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको छ। त्यस्तै चन्द नेतृत्वको नेकपाका दस्तावेज समेत फेला पारेको छ ।