चक्रपथ विस्तारबारे सहजीकरण

रिपोर्ट नेपाल | 2020 Oct 13 | 07:13 am 1925

काठमाडाैं, असाेज २७ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि अबको एक महिनाभित्र बिजुली लगायतका खम्बाहरू स्थानान्तरण गर्ने भएको छ ।

त्यसैगरी तीन महिनाभित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने र चक्रपथको सीमा क्षेत्रमा परेका जग्गाको मूल्याङ्कन गर्ने निर्णय मन्त्रालयले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा सिंहदरबारमा बसेको चक्रपथ विस्तारसँग सरोकार राख्ने निकायसँगको बैठकले सो निर्णय गरेको हो ।

मन्त्री नेम्वाङले कात्तिक मसान्तभित्र चक्रपथ क्षेत्रमा परेका बिजुली तथा टेलिफोनका खम्बाहरू स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र पुस मसान्तभित्र अनिवार्य रूपमा महाराजगञ्ज चोक र सानोभर्याङस्थित ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने निर्णय भएको जानकारी दिए ।

चक्रपथको सो खण्डमा परेका घरजग्गाको मूल्याङ्कन पुस मसान्तभित्र गर्ने निर्णय गरिएको छ, उनले भने, संरचनाको स्थानान्तरण तथा जग्गा अधिग्रहण कार्य यथाशीघ्र सम्पन्न गरी काम सुरु गर्न चिनियाँ पक्षलाई आग्रह गरिनेछ ।

त्यसैगरी, कात्तिक मसान्तभित्र स्वयम्भूस्थित चैत्य हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने निर्णय सो बैठकले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन कात्तिकभित्र सम्पन्न गर्ने तथा चक्रपथको सीमासम्बन्धी अन्योलबारे राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गर्ने जिम्मेवारी सडक विभागलाई दिइएको छ । गोखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.