तनहुँ, माघ २८: जिल्लाको भानु नगरपालिकाका इन्जिनियर र वडा सदस्यलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इन्जिनियर शुकदेव अधिकारी र भानु–१३ का वडा सदस्य कृष्णबहादुर अधिकारी रहेका छन् ।
भानु नगरपालिका १३ समजुरस्थित जनसहयोगी माध्यमिक विद्यालयको निर्माण सम्पन्न भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए बापत सेवाग्रहीबाट ७५ हजार लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
उनीहरु दुबैलाई आयोगले सोमबार अपरान्ह ४ बजे नगरपालिकामा घूस रकमसहित पक्राउ गरिएको बताइएको छ ।