घुसको पैसा श्रीमतीलार्इ दिएर भागेका इन्जिनियर पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 29 | 06:36 am 1948

बुटवल, साउन १३: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख घुससहित शुक्रबार पक्राउ गरेको छ ।

आयोगले इन्जिनियर ठाकुरलाई ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिनुभयो ।

नगद १२ लाख पचास हजार र २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै २४ लाखको भौचर श्रीमतीलाई राख्‍न दिएको र उनी ट्याक्सिमा जाँदै गर्दा हेटौंडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिए।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतिक निमार्णको काम गर्ने गर्दछ। अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनी बाटोमै पक्राउ परेकी हुन्।

यसअघि शुक्रबार बिहान अख्तियारको टोलीले गुल्मिमा, सिमलटारी–प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झालाई पनि एक लाख घुस सहित पक्राउ गरेको थियो। झालाई आफनै कोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.