घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला सम्पन्न

| 2021 Mar 30 | 08:10 pm 3201

बागलुङ चैत १७ः फागु पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६औं बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ ।

आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

गत चैत १३ गते देखि शुरु भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ नगद ५५ हजार, कप मेडल सहित आयोजक घुम्टे युवा परिवार ए प्रथम स्थान हात पारेको थियो । त्यस्तै नगद ३५ हजार कप मेडल सहित दि प्रतिज्ञा होम डेकोरेसन हटियाले द्धितीय स्थान हासिल गरेको छ । त्यस्तै आयोजक घुम्टे युवा परिवार वि र साइकल रिपेरिङ सेन्टरले सान्त्वना ११ हजार नगद पुरस्कार हात पारेका छन् ।

खुल्ला लोक नृत्य प्रतियोगिता तर्फ गोल्डेन फ्यूचर एकेडमी गलकोट नगरपालिका ४ बागलुङ प्रथम, न्यू लाइफ बोडिङ्ग स्कुल गलकोट नगरपालिका ६ बागलुङ द्धितीय, संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ बागलुङ तृतीय भएका छन । विजेता समूहहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।

खुल्ला घुम्टे कृषि मेला प्रर्दशनीमा गलकोट नगरपालिका ७ र ९ का २ सय १४ अगुवा कृषकहरुले मौसमी तथा बेमौसमी कृषि उपजहरु सुन्तला, तरुल, अमिलो, मकै, फर्सी, अदुवा, अलैची, लगायतका उत्पादित कृषि उपजहरु प्रर्दशनी गरिएको थियो ।

कृषि प्रर्दशनीमा कृषि उपजको कृषि बाली वर्गीकरण गरेर विभिन्न विद्यामा मूल्याङ्न गरी उत्कृष्ट नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

विसं २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थापनाकाल देखि कृषि, खेलकुद, कला संस्कृतिको संरक्षण र विकास गदै सामाजिक कार्यमा निन्तर सक्रियताका साथ अगाडी बढिरहेको छ । उक्त अवसरमा घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले संस्थाले हालसम्म गरेका सामाजिक गतिविधिहरुको बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

मेलामा जेष्ठ नागरिक, समाजसेवी, भूपू खेलाडी, युवा व्यवसायी, पत्रकार, कलाकार, प्रायोजक, आर्थिक सहयोगी लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाले यस वर्ष पनि २ विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै वडा भित्रका ६ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गरेको थियो ।

होली मेला घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता युवा परिवारका उपाध्यक्ष जीवन साहनीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन घुम्टे युवा परिवारकी सचिव सावित्री थापा र युवा परिवारका सदस्य खिमकाजी थापाले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.