घरेलु बालश्रम विरुद्धको व्यवस्था खारेज गर्न युवाहरुको आव्हान

रिपोर्ट नेपाल | 2018 Aug 04 | 08:58 pm 2876

ललितपुर,साउन १९: मुलुकी देवानी संहिता, २०७४ मा भएको घरेलु बालश्रम सम्बन्धी त्रुटिपूर्ण व्यवस्थालाई खारेज गर्न माग गर्दै शनिबार सडक नाटक प्रदर्शन गरिएको छ ।

काठमाडौं जिल्ला बालक्लब सञ्जाल काठमाडौं , बालअधिकारका लागि राष्ट्रिय अभियान नेपाल तथा बालअधिकार अभियान नेपालको संयुक्त तत्त्वावधानमा ललितपुर पाटन दरबारस्वायरमा फ्ल्यास मोब र सडक नाटक प्रदर्शन गरिएको हो ।

आगामी भाद्र १ गतेबाट लागू हुने मुलुकी देवानी संहिताको दफा ६४० देखि ६४४ सम्मका व्यवस्थाहरु त्रुटिपूर्ण रहेको भन्दै उक्त व्यवस्थालाई खारेज गर्नका लागि यसरी सडक नाटक मार्फत् सरकार समक्ष माग गरिएको जिल्ला बालक्लब सञ्जाल काठमाडौंका अध्यक्ष राजाराम बस्नेतले बताए ।

सडक नाटकलाई उपत्यकका तीनै सहरमा प्रदर्शन गरेपश्चात् देवानी संहितामा भएको त्रुटिपूर्ण व्यवस्थालाई संशोधनमार्फत् खारेज गर्नका लागि नेपाल सरकारका सरोकारवाला मन्त्रालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षज्यू मार्फत् संघीय संसदमा पेश गर्नका लागि आव्हान गरिने सडक नाटकका निर्देशक तथा बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रवीण सिलवालले बताए ।

साथै मुलुकी देवानी संहितामा भएका व्यवस्थाहरु नेपालको संविधान, बालअधिकारसम्बन्धी महासन्धि, आइआइओ महासन्धिहरु, विद्यमान कानुनी व्यवस्थाहरु तथा बालअधिकारका सिद्धान्तहरुको सिद्धान्तको मर्म तथा भावना विपरित भएकोले यस नाटक मार्फत् उक्त व्यवस्थालाई खारेज गर्न सन्देश दिन खोजिएको कलाकारहरु सुरेश मगर, सोनी भट्टराई, स्वस्थानी राउतले बताए ।

कार्यक्रम व्यवस्थापन तथा अभिनयमा पूर्व घरेलु बालश्रमिकहरुको समेत सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.