घरमै गएर घटना दर्ता गर्दै नगरपालिका

| 2022 Aug 13 | 02:32 pm 1329

गुल्मी, साउन २८ः जिल्लाको रेसुङगा नगरपालिकाले घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रमअनुसार नागरिकको घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमा गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यक्तिगत घटना दर्ता घरमा गई गर्ने अभियान सञ्चालन गरेको मरासिनीले बताए ।

नगरपालिकाबाट प्रदान गर्ने सेवामध्ये अहिले ब्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको उनको भनाइ छ । अन्य सेवालाई पनि यसैगरी अभियानकै रुपमा सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज, सरल रुपमा सेवा प्रदान गर्न र स्थानीय सरकारको अनुभूति प्रदान गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको उनको भनाइ छ । अहिलको अवस्थामा जनतालाई बिना झन्झट, सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हो उनले भने । अभियान जारी राख्ने पन्थीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.