घरदैलोमा पुगेर जनतालाई सेवा दिन प्रधानमन्त्रीको आह्वान

रिपोर्ट नेपाल | 2018 Sep 07 | 10:16 am 1829

काठमाडौँ, भदौ २२: प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको जनाएका छन् ।

नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहनेमा प्रधानमन्त्री ओलीको जोड रहेको छ ।

“वर्तमान सरकार यही अवस्था सिर्जना गर्न प्रतिबद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर रहेको पनि प्रधानमन्त्रीले जनाएका छन् ।

जनताप्रति समर्पित सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता रहेको जनाउदै निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.