काठमाडौं, पुस ८ः जनस्वास्थ्यका विषयमा सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुटको खेती गर्दै छन् भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि सार्वजनिकरुपमै गरेको आह्वानले प्रस्ट पारेको छ ।
विगतमा कोरोना संक्रमित भन्नासाथ अस्पतालले बेड खाली छैन भन्ने र सरकारले घरमै बसेर १४ दिनसम्म आराम गर्नु जटिल अवस्था आए मात्र अस्पताल जानु भन्ने गर्थ्याे । कति बिरामी अक्सिजनको कमी भएर घरमै या विभिन्न अस्पतालको ढोका चहार्दा चहार्दै मृत्युवरण गर्न बाध्य भए भन्ने सरकारसँग कुनै तथ्यांक छैन । त्यति बेला सरकारको ध्यान गम्भीर बिरामीलाई अस्पतालको सीमित आईसीयू र भेन्टिलेटरमा राखी मोटो रकम असुल्नमै केन्द्रित भयो ।
सरकारले पीसीआर परीक्षण नगर्ने, गर्नै परे २ हजार शुल्क तिर्नुपर्ने नियम अनिवार्य गरेको र अस्पताल भर्ना भए अस्पतालले तोकेबमोजिमको शुल्क बिरामी स्वयंले बेहोर्नुपर्ने नियम लगाएसँगै कोरोना संक्रमित सर्वसाधारण स्वास्थ्य परीक्षणबाटै वञ्चित हुनुका साथै थप जटिल अवस्थामा पुगी मृत्युवरण गर्न बाध्य भएका छन् । यो अवस्थामा आम नागरिकका साथ सर्वोच्च अदालतले समेत संविधानले सुनिश्चित गरेको नागरिक अधिकार प्रयोग गर्न पाउनुपर्ने विषयमा जोड दिँदै आएको छ ।
तर सरकारको ध्यान भने पैसा कमाउनेमै भएका कारण कोरोना परीक्षण गर्नेको संख्या ह्वातै घटे पनि जटिल अवस्थाका बिरामी बढ्नुका साथै मृत्यु संख्या बढेको विषयमा आम नागरिकले सरकारको आलोचना गर्दै जाँदा स्वास्थ्य मन्त्रालयको साखमाथि नै प्रश्न उठेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना लक्षण देखिएको अवस्थामा घरमै बसेर जोखिम नलिन र अस्पताल जानका लागि आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका संक्रमित, मृत्यु र निको भएकाको विवरण सुनाउने क्रममा यस्ता अपिल पटकपटक गर्दै आउनुभएको छ । एकपटक सार्वजनिक गरेका स्वास्थ्य नीति एक हप्ता पनि टिक्न नपाउँदै मन्त्रालयले अर्को नीति सार्वजनिक गरेकै कारण सर्वसाधारण जनता ठूलो मारमा परेका छन् ।
सरकारले कहिले कोरोना संक्रमणको लक्षण देख्नासाथ अस्पताल लगेर महिनौं राख्ने नीति लियो । कहिले आइसोलेन सेन्टर त कहिले घरलाई नै आइसोलेसन बनाएर १४ दिन बस्ने पोजेटिभ आएको १४ दिनमा दोस्रो परीक्षणसमेत नगराई पुनः कार्यस्थलमा जान मिल्नेजस्ता सरकारका ढुलमुले नीति नियमबाट थकित भएका नागरिक पछिल्लो समय लक्षण देखिए पनि परीक्षण नै नगराई केही दिन घरमै बस्ने र सहज भएपछि काममा जाने गर्दा कोरोना संक्रमणले घरघरमा अड्डा जमाएको छ । नेपाल समाचारपत्रबाट