धादिङ, साउन २६: माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थी धादिङबाट पक्राउ परेका छन्।
सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालय परीक्षा केन्द्रमा अर्काको परीक्षा दिइरहेका विक्रम गुरुङलाई प्रहरीले आज पक्राउ गरेको हो। विज्ञान विषयको परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३ ‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३ ‘वाइ’ सिम्वोल नम्बरका विक्रम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डम्बर बहादुर विकले जानकारी दिए। दुवै परीक्षार्थी गल्छी गाउँपालिकास्थित जनकल्याण माध्यामिक विद्यालयका हुन्।
दुबैले शुक्रबार गणित विषयको परीक्षा दिएका थिए। शनिबार परेको विज्ञान विषयको परीक्षा दिनका लागि आफू बिरामी परेकाले साथीलाई दिन पठाएको मिलन घिमिरले बताए।