गौतम बुद्ध विमानस्थल सञ्चालनको जिम्मा प्राधिकरणलाई

| 2018 Sep 05 | 02:28 pm 1757

काठमाडौं, भदौ २० : निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने भएको छ । तत्कालका लागि निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सक्ने अवस्था नरहेको भन्दै प्राधिकरणले नै विमानस्थल सञ्चालनको जिम्मा लिने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले यसअघि नै विमानस्थल सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने घोषणा गरे पनि त्यसका लागि पर्याप्त तयारी नहुँदा प्राधिकरणले नै विमानस्थल सञ्चालन गर्ने भएको छ । विमानस्थल सञ्चालनको मोडालिटी तय गर्न प्राधिकरणसहित मन्त्रालयले समयमा काम नगर्दा निजी क्षेत्रलाई दिने मन्त्रालयको योजना तत्काललाई पुरा नहुने देखिएको छ ।

आगामी वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको विमानस्थल सञ्चालनको जिम्मा प्राधिकरणलाई नै दिने गरी तयारी अघि बढाइएको छ । मन्त्रालयले हाल गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थलको सञ्चालनको जिम्मा प्राधिकरणलाई नै दिने भविष्यमा निजी क्षेत्रलाई नै दिने गरी तयारी भइरहेको जनाएको छ ।

विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने वा प्राधिकरणले नै सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न चरणमा छलफल भएको थियो । पर्यटन मन्त्रालय र प्राधिकरणको छलफलपछि यसबारे राय दिन राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयलाई पनि सुझाव मागिएको थियो ।

प्राधिकरण सञ्चालक समितिले अर्थ मन्त्रालय, योजना आयोग र पर्यटन मन्त्रालयसमेतको रायका आधारमा विमानस्थल सञ्चालनको निर्णय गर्नेछ । त्यसपछि औपचारिकरुपमा विमानस्थल सञ्चालनको जिम्मेवारी पनि उसैको हुनेछ ।

विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने भन्सार, सुरक्षा, वाणिज्य, कृषि तथा पशुपंक्षी क्षेत्रसँग सम्बन्धित कार्यालय स्थापनाका लागि पर्यटन मन्त्रालयले यसअघि नै सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिसकेको प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको आयोजना मुआब्जाबाहेक करिब ९ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.