गौचन हत्याको नयाँ रहस्य , चरीलार्इ सुट गरेकै पेस्तोल प्रयोग

| 2018 Nov 02 | 08:20 am 1838

काठमाडौं, कार्तिक १६ : पछिल्लो समय चर्चामा आएको हाईप्रोफाइल हत्या र प्रहरीको इन्काउन्टरमा मारिएका गुण्डा नाइकेबीच रहेको साँठगाँठका बारेमा प्रहरीले केही नयाँ तथ्य फेला पारेको छ । तत्कालिन समयमा एमाले धादिङ क्षेत्र नं १ का उपाध्यक्षसमेत रहेका गुण्डा नाइके चरी भनिने दिनेश अधिकारीलाई धादिङकै अर्का गुण्डा नाइके राधे भनिने राधाकृष्ण भण्डारीले हानेको पेस्तोल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा समेत प्रयोग भएको पाएको हो।

२०७० असार २१ गते एमालेको कार्यक्रम सकेर धादिङ सदरमुकामबाट गाडीमा काठमाडौं फर्कंदै गरेका चरीमाथि बेलुका ५ बजेतिर काठमाडौंको गुर्जुधारामा गोली प्रहार भएको थियो । गोली हान्ने व्यक्ति प्रहरीले व्यापक खोजी थालेपछि घटनाको तीन दिनपछि २४ गते गुन्डा नाइके राधेले आफूले गोली हानेको भन्दै महानगरीय प्रहरी बृत्त, दरबारमार्गमा आत्मसमर्पण गरेका थिए ।

आत्मसमर्पण गरेका राधेलाई महानगरीय प्रहरी परिसर, हनुमानढोका लगिएको थियो। धादिङ बजारबाटै चरीलाई पछ्याउँदै गुर्जुधारा पुगेपछि गोली हानेको प्रहरीसमक्ष उनले बयान दिएका थिए। बयानमा गोली हानेको पेस्तोल चरीकै भएको उल्लेख छ । राधेको बयानपछि प्रहरीले साउन १३ गते चरीलाई पनि हातहतियार मुद्दामा पक्राउ गरेको थियो । पछि दुवै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा रिहा भएका थिए । त्यसबेलासम्म गोली हानिएको पेस्तोल प्रहरीले फेला पार्न सकेको थिएन ।

चरी हाल प्रहरी इन्काउन्टरमा मारिएपनि उक्त समयमा चरीलाई प्रहार गरेको गोलीबारे प्रहरीले नयाँ तथ्य फेला पारेको हो । गौचन हत्याको आरोपमा कात्तिक १२ गते पक्राउ परेका रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामाको बयानपछि उक्त रहस्य प्रहरीले फेला पारेको हो ।

गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत हाल कारागारमा छन् । राधेले चरीलाई गोली हानेको भनेर दिइएको झुटो बयानको सबै योजना समीरकै भएको तथ्य पनि खुलिसकेको छ। त्यसबेला समीरमान, कुमार घैंटे, चरी एउटै समूहमा रहेर गुन्डागर्दी गर्ने गरेका थिए ।

तर सँगै काम गर्दा गर्दै चरीको आफूप्रतिको व्यवहार र रवाफ ठिक लाग्न छोडेपछि समीरमानले चरीको हत्या गर्ने योजना बनाएका थिए । योजनाअनुसार चरीलाई गोली हान्नका लागि समीरमानले अम्बरबहादुर रानामगरलाई तयार पारेका थिए । अम्बर त्यसबेला बहालवाल सेना थिए । जसलाई गौचन हत्यामा अपराध महाशाखाले पक्राउ गरिसकेको छ । अम्बरले बयानमा भनेका छन्, ‘चरीलाई समीरकै योजनामा मैले गोली हानेको हुँ । राधेलाई केही आर्थिक प्रलोभन देखाएर समीरले आत्मसमर्पण गर्न लगाएको हो ।’

बहालवाल सेनामै रहेकाले पक्राउ पर्ने र सबै पोल खुल्ने डरले चलाखीपूर्ण तरिकाले राधेलाई समीरमानले आत्मसमर्पण गर्न लगाएको अहिले अनुसन्धानबाट खुलेको हो । त्यसबेला चरीलाई गोली हान्ने पेस्तोल पनि समीरले नै उपलब्ध गराएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । जबकी राधेले चरीकै पेस्तोलबाट उनलाई गोली हानेको भन्दै झुटो बयान दिएका थिए । त्यसबेलै प्रहरीले गतिलो अनुसन्धान गरेको भए समीरमान, राधे र अम्बर त्यसबेलै पक्राउ पर्न सक्ने एक प्रहरी अधिकारी बताउँछन् ।

आफूमाथि भएको आक्रमणको बदला लिन भन्दै चरीले ५ महिनापछि २०७० पुस १५ गते काठमाडौं ढुंगेधारामा राधेमाथि नै खुकुरी प्रहार गरेका थिए । उनको घुँडा, ढाड र शरीरको अन्य भागमा चोट लागेको थियो । त्यसपछि चरी प्रहरीको ’मोस्ट वान्टेड’ सूचीमा परेका थिए । आखिरमा प्रहरीले गरेको इन्काउन्टरमा चरीको भीमढुंगामा मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.