पर्सा, जेठ १५ः जिल्लास्थित क्वारेन्टाइनमा रहेका व्यक्ति भागेर जान खोज्नेलाई गोलीसमेत हान्न पाउने गरी गरिएको निर्णयलाई हाल कार्यान्वयन नगर्न बुधबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले सो अन्तरिम आदेश दिएको हो । पर्सा जिल्लास्थित क्वारेन्टाइनको शौचालयबाट दुई जना भागेपछि त्यहाँको सुरक्षासँग सम्बन्धित व्यक्तिको बैठकले अबदेखि क्वारेन्टाइनमा रहेका व्यक्ति भाग्न लागेमा उनीहरूलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई अधिकार दिएको थियो ।
सो बैठकले गरेको उक्त निर्णय संविधानको विभिन्न व्यवस्थाका विपरीत भएको उल्लेख गर्दै अधिवक्ता अजयशंकर झासमेतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा संविधानमा भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, समानताको हकलगायतको हनन भएको दाबी गरिएको थियो ।
यही जेठ १ गते पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लगाउँदै क्वारेन्टाइनबाट भागेर जानेलाई गोली हान्न सक्ने गरी निर्णय गरेको थियो ।
सर्वोच्चले समितिको त्यस्तो निर्णयले व्यक्तिको विभिन्न हक हनन भएको उल्लेख गर्दै हाल सो निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो । नेपाल समाचारपत्रबाट