गोली हानेको आरोपमा पूर्वइन्जिनियर शुभाकर खनाल प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2019 Jul 30 | 02:29 pm 1747

काठमाडौं, साउन १४:  कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा काठमाडौं प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले केहीबेर अघि खनाललाई नियन्त्रणमा लिइएको बताइएकाे छ ।  खनालको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ । हतियार लाइसेन्सप्राप्त भएको प्रहरीले जानकारी दिए ।

अहिले खनालले नै गोली चलाए भन्ने खुलेको छैन, लाइसेन्स प्राप्त हतियारबाट गोली चलेकोजस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएका हौं,’ काठमाडौं प्रहरी स्रोतले जनाए ।

छिमेकीसँगको विवादका कारण खनालले गोली चलाएको हुन सक्ने स्थानीयको भनाइ छ । हिजो राति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेकाले  आज बिहान खानतलासी गरेको हो ।

शर्माको घरको तेस्रो तलामा उनकी छोरी सुत्ने कोठामा गए राति ९ बजेतिर गोली प्रहार भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले यसअघि नै शर्माको घरमा लागेको गोलीको प्रकृति हेर्दा लाइसेन्सप्राप्त हतियारबाट चलेको जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.