गोर्खा ब्रुअरीका कारण दुई न्यायाधीशले दिए राजिनामा

रिपोर्ट नेपाल | 2019 Aug 26 | 07:36 am 2081

काठमाडौं,  भदाै ९:  गोर्खा ब्रुअरीको कर छलीसम्बन्धी विवादमा तानिएका उच्च अदालतका न्यायाधीशद्वय जीवनहरि अधिकारी र रामचन्द्र यादवको जागिर ब्रुअरीका कारण गएको छ। उनीहरूले ब्रुअरीको कर छलीसम्बन्धी विवादमा तानिएपछि एकपछि अर्को राजीनामा दिएका छन्।

उक्त विवादमा मुछिएका न्यायाधीश अधिकारीले अघिल्लो साता राजीनामा दिएका थिए भने अर्का न्यायाधीश यादवले हालै राजीनामा दिएका हुन्। यद्यपि उनीहरूले गोर्खा उक्त मुद्दाको आदेशप्रति आफूहरू अडिग रहेको बताभएका छन्।

न्यायाधीश अधिकारीले निष्पक्ष न्याय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेकाले राजीनामा दिएको धारणा राखेका थिए भने न्यायाधीश यादवले लामो समय न्याय क्षेत्रमा बिताए पनि अहिलेको परिस्थितिले नैराश्यता देखिएकाले राजीनामा दिएको बताएका छन्।

गोर्खा ब्रुअरीसम्बन्धी मुद्दामा दिएको अल्पकालीन अन्तरिम आदेशमा आफू अहिले पनि अडिग रहेको यादवको दाबी छ। ब्रुअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषद्ले उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानबिन शुरू भएको थियो।

गत साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरू अधिकारी, यादव र नरबहादुर शाहीमाथि छानबिन एवं कारबाहीको आदेश दिएको थियो।

परिषद्ले यसअघि नै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा बयान दिइसकेपछि अधिकारी र यादवले राजीनामा दिएका हुन्।

ब्रुअरीको आलटाल

गोर्खा ब्रुअरी कम्पनीका नाममा आन्तरिक राजस्व कार्यालय, भरतपुरले निर्धारण गरेको अन्तःशुल्कको विषयमा कम्पनी क्षेत्राधिकारबाहिरको अदालतमा गएको र अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको भन्ने विषयमा उक्त परिषद्ले अहिले पनि छानबिन गरिरहेको छ।

यता गोर्खा ब्रुअरी भने कर नतिर्नका लागि आलटाल गर्दै गइरहेको छ। खेतान ग्रुपबाट सञ्चालित यस कम्पनीले कर तिर्न समय लम्ब्याउँदै गएको हो।

आन्तरिक राजस्व कार्यालय भरतपुरले अन्तःशुल्क, जरिवाना र विलम्ब शुल्कसहित झन्डै ८८ करोड रुपियाँ कर तिर्न ताकेता गरेको छ।

तर, कम्पनी भने कर तिर्नुको सट्टा अनेक बहनाबाजी गर्दै पन्छिरहेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.