पर्वत, बैशाख २३: गोरु काटेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँका ८४ वर्षीय वीरबहादुर तामाङ र सोही वडाको धारापानीका ५० वर्षीय गङ्गाबहादुर गुरुङ रहेका छन्।
उनीहरूलाई पोखरा महानगरपालिका–१८ पिपलडालीमा गोरु काटिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियारसहित पक्राउ परेका उनीहरू विरुद्ध पशुपक्षी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट आठ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।