गोरखाको चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध

रिपोर्ट नेपाल | 2022 Dec 04 | 07:32 pm 1205

गाेरखा, मंसिर १८ः गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ। धार्चेको काशिगाउँ, चुमनुब्रीको छेकम्पार, समागाउँ, बिही, प्रोक लगायत ठाउँमा फोन अवरुद्ध भएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए। ‘चार दिनदेखि फोन अवरुद्ध भएको छ’ उनले भने ‘गाउँमा मानिसहरुसँग सम्पर्क भएको छैन, इन्टरनेट चलेको ठाउँमा मात्रै सम्पर्क भएको छ।’

फोन बिग्रिएपछि आफन्तसँग कुराकानी गर्न, सन्चो बिसन्चो सोध्न नपाएको चुमनुब्री ७ छेकम्पारका तेन्जिङ लामाले बताए। ‘कोहीलाई बोलाउन प¥यो भने घरमै जानुपर्छ, फोनमा कुरा गर्न पाएको छैन, तलबाट खच्चडमा सामग्री ल्याउन भन्न पाएको छैन’ उनले भने। केहीदिनदेखि फोनमा टावर नदेखाएको र फोन नलागेको लामाले गुनासो गरे। ‘किन फोन लागेन, के भयो भनेर आफन्त चिन्तामा होलान’ उनले भने।

चुमनुब्री र धार्चेको केही ठाउँमा फोन अवरुद्ध भएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेनद्र श्रेष्ठले बताए। ‘केरौँजाको मुख्य टावरमा बत्ती छैन’ उनले भने ‘त्यो टावर नचल्दा चुमनुब्री र त्यहाँ वरपर फोन अवरुद्ध हुन्छ।’ केरौँजाको लघुजलविद्युतमा केही दिनदेखि समस्या आएको छ। विद्युत नहुँदा टावरले काम नगरेको र सोमबारसम्म बिजुली सुचारु भएसँगै टावर संचालनमा आउने श्रेष्ठले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.