काठमाडौँ, असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै गैरजिम्मेवार अभिव्यक्तिका कारण पुनः एकपटक विवादमा तानिनुभएको छ । यातायात व्यवसायी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभएको र धेरैपटक दिल्ली जानुभएको भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिनुभएको हो । सोही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको छ । एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेका संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । सभामुख देवराज घिमिरेसँग समय लिएर बोल्दै विपक्षी दल एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले जे भन्नुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमाथि आघात भएको छ । यो दुर्भाग्यको दिन किन देख्नुप¥यो ? नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन । हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।’ सांसद पन्तले ७० वर्षका मनमोहन अधिकारीले दिल्लीमा टेबुल ठोकेर आएको कुरा प्रचण्डले छोडेर आएर राष्ट्रघात गरेको दाबी गर्दै भन्नुभयो, ‘नेपालको जलस्रोत भारतले कब्जा गर्ने गरी सम्झौता गरेर आएका छन् । त्यसैले प्रधानमन्त्रीले पदमा बसिरहन नैतिकताले दिँदैन । तत्काल राजीनामा दिनुपर्छ ।’
त्यसलगत्तै विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरू बेलअघि भेला भएका थिए । सभामुख घिमिरेले भने एमालेका सांसदहरूको विरोधका बाबजुत पनि अन्य सांसदहरूलाई आकस्मिक समयमा बोल्न समय दिनुभएको थियो । विपक्षी दलका सांसदहरूले बैठक अवरोधलाई निरन्तरता दिन थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यसअघि, बुधबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे संसद्मा जवाफ माग्ने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रस्ट नपारेसम्म संसद् चल्न नदिने निर्णय भएको जानकारी दिँदै एमालेका सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक छ । यो संसद्कै अपमान हो । उहाँको अभिव्यक्ति जनादेशको प्रतिकूल हुनेगरी आएको छ । प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्छ । इमान्दारी र नैतकिता हुन्छ भने उहाँले राजीनामासम्म दिनुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विषयमा जवाफ माग गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्ड पटक-पटक अभिव्यक्तिका कारण विवादमा आउने गर्नुभएको छ । पछिल्लो समय फेरि नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उहाँ विवादमा आउनुभएको हो । पुस्तक विमोचन कार्यक्रममा दाहालले भन्नुभएको थियो, ‘उहाँ (प्रितम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू-साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’
नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकिर गर्नुभएको छ । यसबाट विपक्षीहरूमा कति पूर्वाग्रह छ भन्ने देखिएको र त्यसबाट केही नहुने प्रधानमन्त्रीको दाबी छ । आफ्नो अभिव्यक्तिले चौतर्फी आलोचना भइरहेको बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रष्टीकरणको शैलीमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आज म सुन्दै छु एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन । उनले बोलेको मैले भनेँ उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ? कहिले दिल्ली, कहिले नेपालको पार्टीहरूसँग छलफलमा लाग्नुहुन्थ्यो ।’ उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको टिप्पणी गर्दै भन्नुभयो, ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन । त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरूमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौँ ।’
‘मिटरब्याजी विरुद्धको विधेयक पास गर्न नदिन संसद् अवरोध’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद् अवरोध गरेको आरोप लगाउनुभएको छ । विपक्षी दल एमालेले संसद् अवरोध गरेको सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूची रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गरेको आरोप लगाउनुभएको हो । पुस्तक विमोचनका बेला आफूले पुस्तकका पात्र २०७२ सालतिर आफूलाई प्रधानमन्त्री बनाउन कहिले नेपालका राजनीतिक दल र कहिले दिल्ली धाउने प्रितम सिंहले भनेको कुरालाई आफूले बोलेको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘बुधबार हामीले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक आज पास गर्नुपर्ने हो । प्रतिपक्षको भर्खर सुन्दै छु, सदन चल्न नदिने रे, अहिले बहाना चाहिएको छ, यो विधेयक रोक्न सायद त्यसकारण बहाना बनाएर सदन अवरोध गर्ने कोसिस भइरहेको छ ।’
राष्ट्रियसभामा पनि अवरोध
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेले राष्ट्रियसभा पनि अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै राष्ट्रियसभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकाले राजीनामा दिनुपर्ने माग गर्दै दाहालले भन्नुभयो, ‘हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? कसको इशारामा नियुक्ति हुन्छ ? प्रधानमन्त्रीलाई सार्वभौम संसद्ले बनाउँछ कि भारतले बनाउँछ ? दिल्लीको इसारामा बन्छ ? हाम्रो पार्टीले यसलाई गम्भीरमा रूपमा लिएको छ । भारतको इसारामा बन्ने प्रधानमन्त्री स्वीकार्य छैन ।
दिल्लीको इसारामा प्रधानमन्त्री बन्नुभएको हो भने स्वीकार्य छैन । उहाँले राजीनामा दिनुपर्छ ।’ एमालेका सांसदहरूले आफ्नो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित गर्नुभएको थियो । तर, दोस्रो बैठक सुचारु हुने अवस्था नदेखिएपछि बैठक आजसम्मको लागि स्थगित गरिएको छ ।
बुधबार बैठक बस्न नसकेपछि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको अध्यादेश निष्क्रिय भएको छ । २० वैशाखमा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधानअनुसार ६० दिनभित्र संसद्बाट पारित नहुने भएका कारण निष्क्रिय भएको हो । अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो र राष्ट्रियसभाले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्ने थियो । तर, प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक-पटक दिल्ली गएको भनी केही दिनअघि दिएको अभिव्यक्तिको विषयलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेपछि विधेयक पास हुन सकेन ।
प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ । बुधबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको आरोप लगाउँदै अब जवाफ नभई राजीनामा चाहिएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अभिव्यक्ति अशोभनीय र आपत्तिजनक रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति आलोचनाका लागि योग्य छ : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको बताउनुभएको छ । बुधबार संसद् भवनबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रूपमा विमति नै छ ।’
उहाँले नेपालको प्रधानमन्त्रीले नेपालको संसद्प्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो । तर, पहिलो र तेस्रोपटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो । तीनपटकमध्ये दुईपटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो,’ शर्माले अघि भन्नुभयो, ‘त्यसैले प्रधानमन्त्रीले पनि संसद्प्रति राख्ने सम्मान भुल्नु हुँदैन । नेपालको संसदीय परिपार्टी, संसद्को गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ ।’
प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्छ : राणा
नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने बताउनुभयो । बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग राणाले प्रधानमन्त्री दाहालले अभिव्यक्तिमा तर्कवितर्क गर्नुभन्दा पनि संसद्मा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थिरतातर्फ लैजान नहुने जिकिर गर्नुभयो । निर्वाचन भएको आठ महिनामा आठ वर्षमा हुने घटनाक्रमहरू भएको र सरकारले काम गर्न नपाएको भन्दै उहाँले कांग्रेस सत्ताभन्दा पनि स्थिरतातर्फ केन्द्रित भएको बताउनुभयो ।
(हिमालय टाइम्सबाट)