चितवन, माघ ४ः चितवन राष्ट्रिय निकुञ्जमा संचालित अपरेशन महाहण्टमा खटिएको नेपाली सेना र निकुञ्ज
कर्मचारीको संयुक्त टोलीले मिति २०७७ माघ २ गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा
२ जना व्यक्तिहरुलाई पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका ७ नयाँबजार निवासी २७ वर्षीय कैलाश आले मगर र नवलपुर जिल्ला गैंडाकोट नगरपालिका १ बस्ने २७ वर्षीय काले भनिने अशोक गुरुङ्ग रहेका छन् ।
अपरेशन महाहण्ट अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित
जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने
विश्वास नेपाली सेनाले लिएको जनाएकाे छ ।